काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमका दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
सञ्चार मन्त्रालयमा आज नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध सेवा, पुनःस्थापनाको प्रगति र बाँकी कामबारे जानकारी लिनुभएको हो ।
प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिकसँगै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय र अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सेवा पुनःस्थापनालाई उच्च प्राथमिकता दिन उहाँले निर्देशन दिनुभयो ।
तत्काल विद्युत् आपूर्ति पुर्याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन मन्त्री तिमिल्सिनाले टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रमा सडक तथा विद्युत् संरचनामा पुगेको क्षति, उपकरण र प्राविधिक जनशक्ति परिचालनको अवस्थाबारे समेत उहाँले जानकारी लिनुभएको थियो ।
छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोबाट विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनःस्थापनाका लागि भइरहेको कामबारे जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश प्रभावित टावरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो ।
सडक तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली र आवश्यक उपकरण पुर्याउन कठिनाइ भइरहेको टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न नसकिने स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर, उपकरण तथा प्राविधिक जनशक्ति पुर्याएर सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको सिलवालले बताउनुभयो ।
नेपाल टेलिकमका अनुसार असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा १ हजार १३२ वटा टेलिफोन साइट प्रभावित भएका थिए । तीमध्ये १ हजार २ वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन सकेका छैनन् ।
टेलिकमका अनुसार हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीनवटा टावर सञ्चालनमा आउन बाँकी छन् । कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रुपन्देही र स्याङ्जालगायत जिल्लामा पनि केही साइट अझै सञ्चालनमा आउन सकेका छैनन् ।
नेपाल टेलिकमले प्रभावित साइटमा प्राथमिकताका आधारमा प्राविधिक टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको जनाएको छ । सडकमार्गबाट पुग्न नसकिने तथा विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालन गर्ने काम भइरहेको टेलिकमले जनाएको छ।








