२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

गत आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता पाइएन

गत आर्थिक वर्षकै सामाजिक सुरक्षा भत्ता पाइएन
अ अ+ अ-

रुकुमपूर्व । जिल्लाको सिस्ने गाउँपालिका–१ ओख्रेनाकी ९६ वर्षीया लाटी बुढाले एकवर्ष अगाडिसम्म नियमितरूपमा वडा कार्यालयबाट वृद्धभत्ता पाइरहनु भए पनि गत मङ्सिर महिनापछि भने पाउनुभएको छैन। ठूलो सिस्नेको ८० वर्षका धनी बुढाले पनि गत मङ्सिर पछि पछिको वृद्धभत्ता पाउनुभएको छैन् । सोही स्थान निवासी ७५ वर्षीया असक्त जयकुमारी बुढाको पनि यस्तै गुनासो छ  । उहाँहरु त केही उदाहरणीय पात्र मात्र हुनुहुन्छ । वडाका अन्य सबै ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले विगत एक वर्षयताको सामाजिक सुरक्षा भत्ता र बालबालिकाले बालपोषण भत्ता पनि पाएका छैनन् । 

स्थानीय सरकारको स्थापनापछि घर छैउबाटै सामाजिक सुरक्षाभत्ता पाइरहेका वडावासीले स्थानीय सरकार घरछेउमै हुँदाहुँदै पनि एक वर्षको भत्ता पाउनबाट वञ्चित छन् ।यो समस्या स्थानीय सरकारका कारणबाट नभई बैंकिङ प्रणालीलाई विकेन्द्रीकृत गर्न नसकेका कारण भएको हो। यहाँ अहिले ३९ ज्येष्ठ नागरिक, तीन दलित ज्येष्ठ नागरिक रहेको वडाध्यक्ष मानबहादुर बुढाले बताउनुभयो । उहाँकाअनुसार त्यहाँ ४१ एकल महिला, सात ‘ख’ वर्गको अपाङ्गता परिचय पाएका व्यक्ति छन् भने पाँच दलित बालबालिका र २२७ बालपोषण भत्ता पाउने बालबालिका छन् । यी सबैले गत मङ्सिरयताको भत्ता पाएका छैनन् । 

भट्टचौरकी ८० वर्षकी उजेली बुढाश्रेष्ठले भौगालिक कठिनाइका कारण सबै ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई बैंक भएको ठाउँसम्म पुग्न समस्या हुने गरेकाले अहिलेसम्म रुकुमकोट पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसकेको बताउनुभयो । अघिल्लो वर्षसम्म वडा कार्यालयबाटै भत्ता पाउने गरेकामा बैंकमै पुग्नुपर्ने अहिलेको बाध्यकारी अवस्थाप्रति उहाँले आक्रोश पोख्नुभयो ।

 “सरकारले दिएकै थियो तर अहिले सके बैंकबाट निकालेर खा नभए त्यत्तिकै बस भन्ने नीति लिएको छ”, बृद्धा बुढाश्रेष्ठले गुनासो गर्नुभयो, “सरकारको यो बैंकिङ प्रणालीले हामीजस्ता विकट ठाउँका नागरिकलाई धेरै नै सास्ती भएको छ ।” बैंकको पहुँचमा नभएकाको लागि वैकल्पिक व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ थियो । 

सोही वडाका ७३ वर्षीय धनबहादुर बुढाकोे क्यान्सर रोगका कारण खुट्टा काटेर फालिएको छ । उहाँले भन्नुभयो, “रुकुमकोट जान सजिलो छ र रु आफू अपाङ्ग छु, सपाङ्ग र तन्नेरी मान्छेलाई त एकदेखि दुई दिनको बाटो हिँड्नुपर्छ,  म खुट्टा नभएको मान्छे कसरी रुकुमकोट पुगेर बैंकबाट भत्ता निकाल्न सकौँला रु” अहिलेसम्म सडक सञ्जालमा नजोडिएको यस ठाउँका नागरिकलाई रुकुमकोट पुगेर भत्ता बुझेको एक चौमासिको भत्ताभन्दा बढी त आउदा जाँदा र त्यहाँ बस्दा खर्च हुने भएकाले यो झन्झट कस्ले उठाउछ भन्दै वडाबासी बैंकमा जम्मा भएको रकम सम्झदै बसिरहेका धनबहादुरले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “रुकुमकोट गएपछि फेरि सजिलै भत्ता कहाँ पाइन्छ र रु लाइनमा बस्यो अनि पालो आए पनि फेरि कहाँ के पुगेन भनेर त्यसै फर्काइदिन्छ, कहिलेकाँही त नेटवर्कले काम गरेन भनेर पनि रित्तै हात बैंकले फर्काइदिन्छ । सिस्ने १ मा फोन पनि लाग्दैन फोनले काम गर्ने भए पनि बैंकमा जाँदा चाहिने कागजपत्रबारे जानकारी लिन सहज हुन्थ्यो । 

वडा नं २का नागरिकलाई पनि बैंकिङ सेवा पहुँच बाहिर छ तर वडा कार्यालयले गत आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता नागरिकको समस्यालाई मध्यनजर गर्दै वडामै पुगेर वितरण गरेको थियो । वडा कार्यालयले नेपाल बैंक लिमिटेडसँगको समन्वयमा वडामै पुगेर भत्ता वितरण गरेको हो । उक्त वडा रुकुमकोटबाट अलिक नजिक पर्ने भएकाले त्यहाँ बैंकका कर्मचारीको उपस्थितिमा भत्ता वितरण गरिएको थियो तर वडा नं १ टाढा भएकाले र त्यहाँ सुरक्षाको कारण जनाउँदै  आग्रह गर्दा पनि बैंकका कर्मचारी जान नमानेको  वडाध्यक्ष बुढाले बताउनुभयो । अहिलेसम्म यातायात, सञ्चार र विद्युत् सेवाको पहुँच नपुगेको  यस वडाका नागरिकको समस्यालाई बुझेर केही गर्ने प्रयास गरे पनि सम्भव नदेखिएको उहाँले सुनाउनुभयो । गउँपालिकाले १ र २ का नागरिकलाई दोहोरो दुःख नहोस् भनेर वडामै पुगेर केवाइसी फारम भने भराएकोे थियो । गाउँपालिकाभित्रका अन्य तीनदेखि ८ नम्बरसम्मका वडाले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता लिइरहेकोे गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो । 

भूमे गाउँपालिकाको  सबै वडामा बैंकिङ प्रणाली लागू भइसकेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिहं श्रेष्ठले जानकारी दिनुभयो । गएको आर्थिक वर्षसम्ममा गाउँपालिकाको ८ र ९ नं का वडावासीलाई घरटोलमै पुगेर उक्त भत्ता वितरण गरिए पनि चालू आर्थिक वर्षदेखि सबै वडालाई बैंकबाटै भत्ता वितरण गर्न थालिएको उहाँको भनाइ थियो । “सबै कुरा बैकिङ प्रणालीमार्फत सिस्टममा चल्नु राम्रो कुरा हो”, अधिकृत श्रेष्ठले भन्नुभयो, “तर यहाँ उपलब्ध सुविधा र भौगोलिक अवस्थालार्ई ध्यानमा नराखी बन्द कोठामा निर्माण गरिएको नीतिले दुर्गम क्षेत्रका नागकिरलाई सास्ती भइरहेको छ।” अहिले कसैले सामाजिक सुरक्षाभत्ता पाउनु र नपाउनुमा यहाँका स्थानीय सरकार र स्वयम् नागरिकको कुनै दोष नभइ यो एउटा नीतिले गर्दा उत्पन्न अफ्ठ्यारोको रुपमा आफूले लिएकोे उहाँको भनाइ थियो । 

पुथाउत्तरगङ्गा गाउँपालिकाले भने अहिलेसम्म बैंकिङ प्रणाली लागू गरेको छैन् । १४चौध वटा वडा रहेको उक्त पालिकाले वडा नं १०, ११, १२, १३ र १४, माथिल्लो बेल्टको १ र ३ गरी ७ वटा वडामा दोस्रो त्रैमासिकबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएको लेखाप्रमुख नवराज खड्काले बताउनुभयो । 

त्यसका लागि ती वडाका  भत्ता पाउने नागरिकलाई बैंकमा गएर खाता खोल्न भनिएकामा अहिलेसम्म  ८० प्रतिशतले खाता खोलिसकेका र २० प्रतिशतले भने अझै नखोलेको उहाँले जानकारी दिनुभयो । 

“गाउँपालिकाको लक्ष्य दोस्रो त्रैमासिकमा सातवटै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिने भए पनि केही ढिला हुने देखिएको छ”, लेखा प्रमुख खड्काले भन्नुभयो,“अहिले भएन भने तेस्रो त्रैमासिकमा त जसरी पनि ती  वडामा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्छौ ।” अन्य वडामा बैंकिङ प्रणालीमार्फत भत्ता वितरणको काम कठिन  भएको उहाँको भनाइ थियो । 

पुथाउत्तरगङ्गा जिल्लाको सबैभन्दा विकट क्षेत्र हो । त्यहाँबाट कतिपयलाई वडा कार्यालयसम्म पुग्न एक दिनको बाटो हिँड्नुपर्छ भने बैंक भएको ठाउँसम्म पुग्न त दुई दिनको बाटो हिँड्नुपर्छ । अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई योभन्दा बढी समय लाग्ने गरेको छ । स्थानीय तहले बैंकमार्फत भत्ता वितरण गर्न थालेपछि जिल्लाका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले बैंकिङ प्रणाली अपनाएकाले खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्न परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ ।
 
रुकुम पूर्व तीन वटा मात्र गाउँपालिका रहेको जिल्ला हो । यहाँका सबै स्थानीय तहमा बैंक स्थापना भएका छन् । सबै गाउँपालिकामा बैंक स्थापना भए पनि सबै बस्तीका नागरिक बैकिङ सेवाको पहुँचमा जोडिन सकेका छैनन् । सिस्नेमा नेपाल बैंक लिमिटेड र प्रभु बैंकबाट भत्ता वितरण भइरहेको छ ।
 भूमेमा सिटिजन बैंकबाट र पुथाउत्तरगङ्गामा सिद्धार्थ बैंकबाट भत्ता वितरण भइरहेको छ । (रासस)