• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

इँटाभट्टामा हालेर पाँचजनाको विभत्स हत्या गरेको अभियोगमा सांसद आलम पक्राउ



काठमाडौं । इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको अभियोगमा प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री मोहमद अफ्ताव आलम पक्राउ परेका छन् । राजपुर फरहदवास्थित घरबाट गौरतर्फ आउनेक्रममा गौर–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हो । ११ वर्षअघिको घटना भए पनि राजनीतिक दबाबका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप उनीमाथि छ ।

चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । विपक्षीलाई तर्साएर चुनाव जित्न उनले बम विस्फोटको योजना बनाएका थिए ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ । घटनालगत्तै मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुखसाना खातुनले सांसद आलम, उनका भाइ शेख मोहमद महताभ आलम, सोही ठाउँका शेख भदै, शेख मोमिन र हालको गरुडा नगरपालिकाअन्तर्गत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाएर जिल्ला हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए ।

तर, प्रहरी र सरकारी वकिलमाथि दबाबका कारण अहिलेसम्म उनी पक्राउ परेका थिएनन् । त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो । सो प्रकरणमा पनि आलममाथि छानबिन हुने प्रहरीले जनाएको छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । दिउँसो कांग्रेस कार्यकर्ताले गौरमा विरोध गरे । कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादवले गौरमा पत्रकार सम्मेलन नै गरेर आलम पक्राउको विरोध गरेका छन् । कम्युनिष्ट सरकारले कांग्रेसमाथि ज्यादति गरेको उनको भनाई छ । सुरक्षा चुनौती थपिएपछि अन्य जिल्लाबाटसमेत प्रहरी मगाएर जिल्लाभरको सुरक्षा कडा पारिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।

अदालतको आदेशको सात वर्षपछि पक्राउ
बम विस्फोट गराउँदै अन्य प्रतिस्पर्धीलाई तर्साएर चुनाव जित्ने रणनीतिअन्तर्गत सो घटना भएको थियो । कांग्रेस नेता आलम ०६४ को संविधानसभा निर्वाचन विजयी पनि भए । राजनीतिक शक्तिको आडमा अपराधबाट भने उनी जोगिँदै आएका थिए । प्रहरीले मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, २९ असार ०६५ मा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्‍यो ।

भोलिपल्ट महान्यायाधिवक्ताको कार्यालयले सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गर्‍यो । त्यसपछि सर्वोच्च अदालतमा रिट पर्‍यो । १६ जेठ ०६९ मा सर्वोच्चका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको आदेश बदर गर्‍यो । त्यतिवेलै उनलाई पक्राउ गर्न बाटो खुलेको थियो । तर, राजनीतिक दबाबमा प्रहरीले छुन सकेन । बरु फरार अभियुक्त रहेकै अवस्थामा ०७४ को निर्वाचनमा पनि टिकट पाएर विजयी भए ।

पछिल्लो समय महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गरेकोमा सर्वोच्चले पुरानै आदेशलाई सदर गरेपछि बल्ल प्रहरीले उनलाई पक्राउ गरेको छ । आलमका भाइसहित सो मुद्दामा फरार अन्य चारजनालाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ । आलमलाई मंगलबार अदालतमा उपस्थित गराई थुनामा राख्न म्याद लिइने रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । नयाँ पत्रिका दैनिकबाट