• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   जब हँसिया लिएर डिएसपि र इन्स्पेक्टर गाँजाको बोट फाँड्न मनोहरा खोलामा छिरे…. ★   जहाँ दौडेर राजा बन्ने परम्परा थियो ….. फोटो फिचर ★   संसदका आगामी सबै बैठकमा उपस्थित हुन पार्टीका सांसदलाई काँग्रेसको निर्देशन ★   कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जना पक्राउ ★   आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ? ★   रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ ★   बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका ★   आईएमई समूहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो ★   चुरे तथा वनजंगल संरक्षण अभियान्तले बुझाए मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र ★   आलियाले दीपिकालाई पछि पारिन्

लामो लाइनमा बस्नुपरेको भन्दै एनआरएन प्रतिनिधिले त्रिभुवन विमानस्थलको अध्यागमन डेस्क तोडे



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा भाग लिन अस्ट्रेलियाबाट नेपाल आएका केही प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरेका छन् । लामो लाइनमा बस्नुपरेको भन्दै उनीहरूले आइतबार बेलुका डेस्क तोडफोड गरेका हुन् । तोडफोडमा उत्रिएका एनआरएनए रमेशकुमार थापालाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ ।

पिए ७१०२५६६ नम्बरको अस्ट्रेलियन राहदानीवाहक थापाले मुड्कीले हानेर अध्यागमनको सिसा फुटाएर कर्मचारीमाथि पनि अभद्र व्यवहार गरेका थिए । उनीसहित पाँचजनाको समूहले कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । तोडफोड गर्ने थापालाई पक्राउ गरिएको र उनका अन्य चार साथीको कागजपत्र लिइएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

थापालाई आइतबार राति महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो भने सोमबार बेलुका अध्यागमन विभागको हिरासतमा सारिएको थियो । जरिवाना गरेर उनलाई मंगलबार छाडिने विभागका महानिर्देशक पौडेलले बताए । उनलाई छाड्न एनआरएका नेताहरूले अध्यागमन अधिकारीहरूलाई दबाब दिएका थिए । मंगलबारदेखि एनआरएनको नवौँ अधिवेशन काठमाडौंमा सुरु हुँदै छ । जसका लागि करिब १५ सय प्रतिनिधि काठमाडौं आइसकेका छन् ।

यसरी भयो घटना
आइतबार राति १२ बजेतिर उनीहरू क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ मार्फत नेपाल आएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका कारण साँझ आउने विमान राति आएका थिए । जसकारण बेलुका अबेरसम्म अध्यागमनमा भिडभाड थियो । अध्यागमन कार्यालयमा नेपाली, निःशुल्क भिसा पाउने सार्क राष्ट्र तथा चिनियाँ र अन्य विदेशीका लागि छुट्टाछुट्टै डेस्क हुन्छ ।

उनीहरू नेपाली मूलका अस्ट्रेलियन नागरिक हुन् । उनीहरूसँग एनआरएनए कार्डसमेत थिएन । पर्यटक भिसामा नेपाल प्रवेश गर्न लागेका थिए । जसकारण उनीहरू अन्य विदेशी पर्यटकजस्तै लाइनमा बस्नुपर्ने थियो । लाइन लामो थियो । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनीहरूले त्यहाँ गएर आफूहरूलाई छिटो भिसा दिन दबाब दिएका थिए ।

सो डेस्कमा कार्यरत महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरेकी थिइन् । त्यही क्रममा एक भारतीय सो डेस्क हुँदै बाहिरिएकी थिइन् । त्यसपछि उनीहरूले भारतीयलाई सजिलै इन्ट्री दिने आफूहरू लाइनमा बस्नुपर्ने भन्दै डेस्कको सिसा फुटाएर कर्मचारीमाथि अपशब्द बोलेका थिए । लगत्तै अध्यागमन कर्मचारीले प्रहरी बोलाएका थिए ।

बुद्ध एयरको काउन्टरमा मुड्की बजार्दै जंगिए सांसद
जहाज ढिलो उडेको भन्दै प्रतिनिधिसभा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका छन् । सर्लाही–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद तोडफोेडमा उत्रिएका हुन् ।

बिहान ११ः४० मा उडान तालिका भए पनि दिउँसो १ः४० सम्म नआएपछि सांसद साह आक्रोशित भएका थिए । ‘विमान कम्पनीका कर्मचारीलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आक्रोश नियन्त्रण गर्न सकिनँ । आक्रोशमै हातले काउन्टरमा हिर्काएँ,’ साहले भने ।

बुद्ध एयरका जनकपुर प्रबन्धक विजय सिंहले भने प्राविधिक कारणले काठमाडौंबाट विमान आउन ढिला भएको जानकारी पटक–पटक यात्रुलाई गराए पनि सांसद साह एक्कासि तोडफोडमा उत्रिएको बताएका छन् । हुलहुज्जत गरेको आरोपमा उनलाई एयरलायन्सले उडाउन मानेको थिएन, प्रमुख जिल्ला अधिकारीको दबाबपछि उनलाई समेत लिएर जहाज १ः४५ मा काठमाडौंका लागि उडेको थियो । नयाँ पत्रिका दैनिकबाट