काभ्रेपलाञ्चोक। सरकारले पाँचखालमा निर्माण गर्ने भनिएको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु २१ करोड ५० लाख विनियोजन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत दुई शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक वर्ष २०८३/८४ मा थप प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको जनाइएको छ ।
यसअघि करिब ११ हजार रोपनी जग्गा व्यवस्थापनलगायत प्रशासनिक कार्य भएका थिए । पाँचखालमै निर्माण गरिने भनिएको उक्त विश्वविद्यालयका लागि सरकारसँग माग भएअनुसार ‘भौतिक पूर्वाधार विकास’ शीर्षकमा विनियोजित उक्त बजेटबाट थप कार्य अघि बढाइने काभे्रपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्रिय गौरवको आयोजनामा पर्ने गरेको उक्त विद्यालय निर्माणलाई सरकारले प्राथमिकतामा पारेको हो । मन्त्रलायमार्फत विनियोजित उक्त बजेटबाट प्रशासनिक रूपमा बाँकी रहेका काम तथा भौतिक विकासमा खर्चिने जनाइएको छ ।
उक्त विश्वविद्यालयका लागि ‘माष्टर प्लान’ तयार भइसकेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । उहाँका अनुसार निर्माण प्रक्रियाअघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को तयारीमा रहेको छ ।
तत्कालीन सरकारले ‘मदन भण्डारी विश्वविद्यालय विधेयक–२०७६’ विसं २०८१ असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि थप बाटो खुलेको थियो । तत्कालीन सरकारले विसं २०७६ को बजेटमा उक्त विश्वविद्यालयका निर्माणका लागि रु एक अर्ब ५५ करोडसमेत बजेट विनियोजन गरिए पनि विविध कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माणका लागि यसअघि जग्गा अधिग्रहणको प्रक्रिया भने सकिएको छ । विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखाल नगरपालिकासहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब ११ हजार रोपनी सार्वजनिक जग्गा जिल्ला मालपोत कार्यालय धुलिखेलमार्फत अधिग्रहणको काम विसं २०८१ मै सकिएको थियो । कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं. ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० रोपनी सार्वजनिक जमिन विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण) भइसकेको हो ।
सो क्षेत्रमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ ।
तत्कालीन मन्त्रीपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको थियो । तत्कालीन सरकारद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार विसं २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरिएको थियो । सोहीअनुसार विसं २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णयसमेत सरकारले गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत गरिएको थियो । रासस










