बग्दाद। इराकका विदेशमन्त्री फुआद हुसेन र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबीच आइतबार बग्दादमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ ।
इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भेटवार्ताका क्रममा मन्त्री हुसेनले दुई छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दामा निरन्तर समन्वय र परामर्शको आवश्यकता औँल्याउनुभयो ।
उहाँले क्षेत्रीय सुरक्षा, शान्ति र स्थायित्व प्रवर्द्धनका लागि इराकले आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको मित्र, छिमेकी र रणनीतिक साझेदारका रूपमा वर्णन गर्दै विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले हालै इरान र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) अन्तिम सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक कदम भएको बताउनुभयो । साथै, उक्त समझदारीले युद्धविरामलाई थप सुदृढ बनाउने र क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि सकारात्मक वातावरण सिर्जना गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
यद्यपि, शान्ति समझदारी र अन्तिम सम्झौताका लागि वार्ता जारी रहेकै अवस्थामा पनि सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच सैन्य तनाव पुनः चर्किएको छ ।
‘स्टे«ट अफ हर्मज’ मा व्यावसायिक जलयानमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले शुक्रबार र शनिबार इरानका केही सैन्य लक्ष्यमा आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । (रासस/सिन्ह्वा)











