काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् । दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।
गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे । वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजना सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको पनि उनले बताए ।
चियापान कार्यक्रममा नेकपाका सचिवालय सदस्य, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ता, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी, सुरक्षाकर्मी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीसहित सर्वसाधारण उल्लेखनीय उपस्थिति रहेको थियो । चाडपर्व र संस्कृतिको धनी नेपालमा राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश दिँदै आएको छ ।
दसैंको कोजाग्रत पूर्णिमाका दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारूढ नेकपाको बुधबारको चियापानले त्यसलाई निरन्तरता दिएको छ । नेपालको राजनीतिमा बीपी कोइरालाले भारतबाट २०३३ सालमा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने २०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष मनमोहन अधिकारीले बडादसैंका अवसरमा चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए ।
पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र)बीच ३ जेठ २०७४ मा एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुटाउनुका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताइन् । उनले पार्टी एकता भएपछि दोस्रोपटक भएको चियापानमा पार्टीबीच अन्तरघुलनको मौकासमेत प्रदान गरेको बताइन् ।
यस्तै, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गरे । मुुलुक र जनताको विकासका निमित अध्यक्ष दाहालले समृद्ध नेपाल र सुखी नेपालीका लागि सरकारले काम गरिरहेको बताए । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताए । मुलुकको विकास र समृद्धिका लागि संसारको अनुभव लिएर अगाडि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासले समग्र देशको विकासमा प्रभाव पार्ने हुँदा यसको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उनले बताए ।
वरिष्ठ नेता नेपालले जलविद्युत् क्षेत्रको विकासमा गरिने लगानीले दीर्घकालमा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै प्राकृतिक सौन्दर्य, पर्वतारोहणका क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटनको अभिवृद्धि गर्न सकिने हुँदा त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । धार्मिक पर्यटनको पनि राम्रो सम्भावना रहेकाले धार्मिक सम्पदाको संरक्षण गर्नुपर्ने उनले बताए । यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक नेतालाई नजिक ल्याउन मद्दत गर्ने बताए ।
नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले यस्ता कार्यक्रम नियमित हुनुपर्नेमा बताए । पत्रकारसँग संक्षिप्तमा कुरा गर्दै सभापति देउवाले बीपी कोइरालाबाट सुरु गरेको कार्यक्रम अहिले सबै पार्टीले आयोजना गर्ने गरेको स्मरण गर्दै चाडबाडमा हुने यस्ता कार्यक्रमले भेटघाटकोे अवसर मिल्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिए ।
पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए । पौडेलले भने, ‘यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौं, सदन र सडकमा विरोध गर्छौं । सदनमा रहेका कांग्रेस सांसदहरूले पनि लाचारीपन देखाउनुहुँदैन ।’ एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ । राजधानी दैनिकबाट