९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति

भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति

भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
अ अ+ अ-

भेनेजुएला एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ ।

भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका आफन्तहरूको खोजीमा व्यस्त देखिएका पाइन्थ्यो ।

बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा ७.२ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको भूकम्प भेनेजुएलाको सन् १९०० यताको सबैभन्दा शक्तिशाली भूकम्प भएको भूगर्भ सर्वेक्षण अधिकारीहरूले जनाएका छन् ।

उद्धारकर्मी र स्थानीयहरूले भूकम्पपछि भत्किएका अपार्टमेन्टहरूमा अँध्यारोमा माथि चढेर बाँचेकाहरूको खोजी गर्न र भग्नावशेषमुनि पुरिएकाहरूलाई निकाल्ने प्रयास गरिरहेको देखिन्थ्यो ।

फ्रान्स, स्पेन र अमेरिकाले तत्काल उद्धार टोली पठाउने प्रस्ताव गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार साँझ राजधानीको पश्चिमी क्षेत्रमा म्याग्निच्युड ७.२ र ७.५ को भूकम्प गएको थियो।

उद्धार र खोजी कार्य जारी रहेको र भूकम्पले ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् । क्षतिको प्रकृति हेर्दा मृतक सङ्ख्या अहिलेकोभन्दा निकै बढ्नेअनुमान गरिएको उनीहरूले बताएका छन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले कम्तीमा १६४ जनाको मृत्यु भएको र ९७० भन्दा बढी घाइते भएको बताउनुभएको छ । भूकम्पका कारण राजधानी काराकासको उत्तरमा रहेको ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ ।

ला गुएराको काटिया ला मार शहरमा आफ्नो परिवार पुरिएको भत्किएको भवनको अगाडि उभिएका ४९ वर्षीय ल्यारी रोहासले एएफपीसँग भन्नुभयो, “अहिले हामीसँग केही पनि छैन । न त शक्ति छ, न साहस नै । उद्धारका लागि भग्नावशेषमा पस्ने कल्पना पनि गर्न सकिँदैन । भूकम्पपछि लगातार पराकम्पहरू गइरहेका छन् ।”

तटीय शहरमा विद्युत आपूर्ति बन्द भएका छन् र धेरै बासिन्दाहरू सडकमा रात बिताएका वा आफन्तहरूको खोजीमा व्यस्त रहेका सञ्चारकर्मीहरूले बताएका छन् ।

बुधबार गएको ७.५ म्याग्निच्युडको भूकम्प सन् १९०० अक्टोबर २९ मा समुद्रमा गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि गएको भेनेजुएलाको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

उपकरण र जनशक्तिको अभावमा उद्धारकार्य प्रभावित

बुधबारको भूकम्पपछि केही आवासीय भवनहरूमा ठूला चिरा परेका र पर्खालहरू भत्किएका थिए भने दर्जनौं भवन पूरै ध्वस्त भएका थिए ।

“त्यहाँ मानिसहरू जीवित छन् तर कसैले उनीहरूलाई बचाउन आइरहेको छैन”, एउटी महिलाले आफ्नी छोरीको उद्धारमा खटेका स्थानीयमार्फत् खबर पर्खिरहँदा भग्नावशेषको एक छेउमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा बताउनुभयो, “छोरी १२ तले भवन भत्किएर बनेको भग्नावशेषमा पुरिएकी छन् ।”

फ्रान्सले ८५ जना उद्धारकर्मी पठाउने र स्पेनले ५४ जना सैनिक उद्धार तथा खोजी टोली पठाउने घोषणा गरेको छ । चीन, भारत, ब्राजिल र अमेरिका लगायतका देशहरूले पनि सहयोगको प्रस्ताव गरेका छन् ।

“अमेरिकाले तत्काल खोज तथा उद्धार टोली, चिकित्सा सामग्री र मानवीय सहायता भेनेजुएला पठाउने तयारी गरिसकेको छ,” अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार भन्नुभयो ।

मोरोन तटीय शहरबाट २१ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएर ७.२ पहिलो भूकम्प बुधबार साँझ १०ः०४ बजे गएको थियो । एक मिनेटभित्रै त्यसको ४५ किलोमिटर टाढा ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण विभागले जनाएको छ ।

गृहमन्त्री डियोस्डाडो काबेल्लोले सुरक्षाको लागि धेरै भवनहरूमा ग्यास आपूर्ति बन्द गरिएको र जनतालाई घरबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ ।

“हाम्रा केही संरचनाहरू क्षतिग्रस्त छन् र हामी ग्याससम्बन्धी कुनै दुर्घटना हुनबाट रोक्न ग्यासको आपूर्तिलाई बन्द गरेका छौँ,” उहाँले भन्नुभयो ।

काराकास नजिकै रहेको माइक्वेटिया अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारमा ‘गम्भीर क्षति’ भएकाले बन्द गरिएको छ । सामाजिक सञ्जालहरूमा विमानस्थलको क्षतिग्रस्त तस्बिरहरू सार्वजनिक भएका छन् ।

भूकम्पले राजधानीमा त्रास फैलाएको थियो र मानिसहरू सडकमा निस्किएका देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

एएफपीका एक पत्रकारले राजधानीको अल्टामिरा इलाकामा एउटा २२ तले भवन पूरै ध्वस्त भएको आफूले देखेको पुष्टि गरेका छन् ।

भूकम्प क्रमशः २२ किलोमिटर र १० किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएका थिए ।

काराकासको एउटा व्यापारिक भवनमा भूकम्पले त्रास फैलाएको एएफपी पत्रकार खिचेको तस्वीरमा देख्न सकिन्छ ।

“यो अविश्वसनीय थियो, मलाई थाहा छैन कति समयसम्म चलेको थियो,” पसल सञ्चालक हेडी रोमेरोले भन्नुभयो । उहाँ भूकम्प जाँदा माथिल्लो तलामा रहेको बताउनुभयो । “हामीलाई ‘आकस्मिक प्रयोग’का लागि बनाइएको भ¥याङबाट बाहिर निस्किन सहयोग गरिएको थियो,” ४२ वर्षीया रोमेरोले बताउनुभयो ।

राजधानीका धेरै मानिसहरू भवनबाट बाहिर निस्केर केही समय बाहिर बसेपछि कार्यालय र घर फर्किएका थिए।

भूकम्पबाट ट्रुजिलो, काराबोबो, मिरान्डा र ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन्।

भूकम्पको प्रभाव कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो । त्यहाँ पनि भूकम्पको चेतावनी दिँदै घण्टी बजेपछि केही बासिन्दाहरू सतर्कताका लागि भवनबाट बाहिर निस्किएका थिए ।

भूकम्पका लागि जोखिमयुक्त मानिने भेनेजुएलाको हालैका इतिहासमा सबैभन्दा शक्तिशाली भूकम्प सन् १९९७ मा उत्तर–पूर्वमा गएको थियो जसमा ७३ जनाको मृत्यु भएको थियो । त्यस्र्त अर्को सन् १९६७ मा काराकासमा गएको भूकम्पमा २३६ जनाले ज्यान गुमाएका थिए । रासस