• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

स्थानीय तहको भूमिका जवाफदेहीपूर्ण हुनुपर्छ : प्रम देउवा



काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।” उहाँले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मरमोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गर्नुभयो । 

नगरभित्र जनताको सुख सुविधाका लागि भौतिक पूर्वाधारको निर्माणदेखि नगरवासीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै गुणस्तरीय ढङ्गले उपलब्ध गराउन नगरपालिकाले सक्दो पहल गरेको आफूले जानकारी पाएको बताउँदै उहाँले त्यसमा खुशी व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नगरपालिकाले गरेका विकास निर्माणका काम र सेवा प्रवाहमा गरेको सुधारका विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै भन्नुभयो, “जनप्रतिनिधिले जनसवालका काम गरेर मात्र हुँदैन, काममा पारदर्शिता गुणस्तरीयता र जवाफदेहिता सुनिश्चितसमेत गर्न अत्यन्तै आवश्यक छ । त्यसैगरी गरेका कामको जानकारी नागरिकसम्म पु¥याउनु अत्यावश्यक छ । त्यसका लागि गोदावरी नगरपालिकाले  ‘गोदावरी’ नामको पत्रिका प्रकाशित गरेकोमा समेत बधाई दिन चाहन्छु ।”

अहिले हामी लामो समयको राजनीतिक सङ्क्रमण पार गरेर लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामार्फत देशलाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरण  र समतामूलक समाज निर्माणको यात्रामा रहेको बताउदै उहाँले यो यात्रा छिट्टै पुरा गरेर गन्तव्यमा पुग्न ढिलो गर्नु हुँदैन भन्नुभयो ।

प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेको र अबको निर्वाचनमा आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा  भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुने निश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

कोराना महामारीको सङ्क्रमण फैलिएको बेला आफू र आफ्नो परिवारको स्वास्थ्यको कुनै पर्वाह नगरी अग्रमोर्चामा खटिएका यहाँका जनप्रतिनिधिको उच्च प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आएपनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्न सक्नु र विकास निर्माण तथा सेवा प्रवाहमा सबैलाई विना भेदभाव समान पहुँच स्थापित गर्नसक्नु कुशल नेतृत्वको गुण हो भन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै ललितपुरको गोदावरी नगरपालिकास्थित बज्राबाराही मन्दिर समेत दर्शन गर्नुभएको थियो  । रासस