१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ ।

कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गर्नुभएको थियो ।

छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले सुझाव, सल्लाह, टिप्पणी र संशयसहित आआफ्ना धारणा राख्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री लिंथेपले छलफलमा उठेका रचनात्मक सुझावलाई शिरोधार्य गर्ने भन्दै बजेट न्यायोचित र सन्तुलित छ भन्नुुभयो ।

उहाँले आन्तरिक आय रु पाँच अर्ब ५० करोड उठ्ने लक्ष्य राखेको प्रदेश सरकारले कृषि, सिँचाइ, सडक, पूर्वाधार, निजी क्षेत्र र उदय परियोजनामा गर्ने लगानीबाट प्रदेशको आर्थिक वृद्धि दर पाँच प्रतिशत बढी हुने दाबी गर्नुभयो ।

मन्त्री लिंथेपले प्रदेशका १०० वटा विद्यालयमा प्रविधिमैत्री शिक्षा लागू हुने जानकारी दिँदै जङ्गली हात्ती र बाँदरलाई नियन्त्रण गर्न साझा धारणा बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

बाँदर र हात्तीको विषयमा आवाज उठिरहेकाले सरकारले ठोस नीति बनाइ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री लिंथेपले आर्थिक वर्ष २०८३/८४ सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ विचार गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभयो ।

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भयो ।

समसामयिक विषयमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत असार ४ गते विराटनरस्थित आफ्ना निवासमा प्रहरीद्वारा भएको खानतलासीको विषयमा आफ्ना कुरा राख्नुभएको थियो ।

त्यस्तै विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले र शून्य समयमा कोशी प्रदेशसभाका सदस्य सविना बजगाईं, सिर्जना राई र मीना श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार ११ गते दिउँसो १ बजे बस्नेछ । रासस