३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद् पदबाट राजीनामा किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’



तस्बिर:सुरेन्द्र भण्डारी
अ+ अ-

झापा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताउनुभएको छ ।

झापाको विर्तामोडमा आज आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले स्पष्ट राजनीतिक आधारविना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो ।

त्यसको परिणाम स्वरूप निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र नभई कांग्रेसप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उहाँको भनाइ थियो ।अहिलेको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गर्नुभयो ।

“कांग्रेस संसद्बाट जन्मिएको पार्टी होइन, कांग्रेसले संसद् जन्माएको पार्टी हो”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री बन्ने मोहका कारण पार्टीको प्रतिष्ठा र जनविश्वासमा क्षति पुगेको हो ।”

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मुद्दा लागेका सांसदलाई पनि निलम्बन नहुने व्यवस्था ल्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसले सुशासनको मान्यतालाई कमजोर बनाउने बताउनुभयो ।

विगतका कमजोरी नेतृत्वको मात्र नभई आफ्नै पनि रहेको स्वीकार्दै पार्टीले आत्मालोचना गरिसकेको उहाँको भनाइ छ ।उहाँले झापाका चिया उद्योगसँग सम्बन्धित समस्या वार्तामार्फत समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

भूमिहीन सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने, बाहुनडाँगी क्षेत्रमा बढ्दो जङ्गली हात्तीको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने तथा विगतमा कांग्रेसको पहलमा निर्माण गरिएको विद्युतीय तारबारबाहेक प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी नेताहरूले सङ्गठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार, सुशासन, सामाजिक न्याय तथा स्थानीय समस्याको समाधानलाई कांग्रेसको आगामी राजनीतिक प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । रासस