४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति

स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति
अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको मध्यस्थकर्ताहरूले बताएका छन् । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् ।

स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक तथा रचनात्मक वातावरणमा भएको जनाएका छन् । उनीहरूका अनुसार प्राविधिक तहमा थप छलफल अघि बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको छ । साथै हर्मुज जलघाँटी क्षेत्रमा कुनै पनि घटना वा गलत बुझाइबाट तनाव बढ्न नदिन प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गर्ने सहमति भएको छ ।

लेबनानमा पुनः हिंसा भड्किन नदिन सम्बन्धित पक्ष र लेबनानी अधिकारीहरूबीच समन्वय गर्ने उद्देश्यले ‘डि–कन्फ्लिक्सन सेल’ पनि गठन गरिएको छ । प्राविधिक वार्ता बाँकी साताभरि स्विट्जरल्यान्डमै जारी रहने बताइएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेका प्रतिनिधिमण्डलले आइतबार औपचारिक वार्ता सुरु गरेका थिए । गत साता भएको प्रारम्भिक सहमतिअनुसार दुई महिनासम्म वार्ता प्रक्रिया अघि बढ्नेछ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणपछि इरानले हर्मुज जलघाँटीको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । त्यसपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि युद्धको चपेटामा परेको थियो र त्यसको प्रत्युत्तरमा इजरायलले लेबनानमा व्यापक हवाई आक्रमण गरेको थियो । लामो समयसम्म विभिन्न प्रयास असफल भएपछि अमेरिका र इरानले अन्ततः युद्ध अन्त्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त समझदारीमा इजरायल र हिजबुल्लाहबीचको युद्ध अन्त्य गर्ने प्रावधान पनि समावेश गरिएको थियो । यद्यपि त्यसपछि पनि लेबनानमा पटक–पटक झडप भइरहेका छन् । इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी र कतारी मध्यस्थताको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महत्त्वपूर्ण प्रगति भएको बताउनुभएको छ ।

उहाँले तेल तथा पेट्रोकेमिकल निर्यातमा लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएको, नाकाबन्दी हटाइएको, केही रोकिएका सम्पत्ति फुकुवा गरिएको तथा इरानको पुनर्निर्माण र विकासका लागि योजना सुरु गरिएको उल्लेख गर्नुभयो । वार्ताको प्रारम्भिक चरण तनावपूर्ण बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजबुल्लाहलाई समर्थन गरेको आरोप लगाउँदै इरानमाथि आक्रमणको चेतावनी दिएपछि इरानी प्रतिनिधिमण्डल केही समय वार्तास्थलबाट बाहिरिएको थियो ।

ट्रम्पले इरानले लेबनानमा आफ्ना समर्थक समूहहरूलाई रोक्न नसके अमेरिकाले कारबाही गर्न सक्ने चेतावनी दिनुभएको थियो । त्यसको जवाफमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आफ्ना सशस्त्र बल कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको बताउनुभयो । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिण लेबनानमा सेना आवश्यक परेसम्म रहने र इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । आइतबार साँझसम्म दक्षिण लेबनानमा नयाँ इजरायली आक्रमण वा ठूलो सैन्य भिडन्तको समाचार आएको छैन । केही स्थानीय बासिन्दा सावधानीपूर्वक आफ्नो घर फर्किन थालेका छन् ।

यद्यपि इजरायल–हिजबुल्लाहबीचको द्वन्द्वले शान्ति प्रयासलाई पटक–पटक चुनौती दिँदै आएको छ । गत शुक्रबार लेबनानमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलले गरेको आक्रमणका कारण तय गरिएको अमेरिका–इरान वार्ता समेत केही समयका लागि स्थगित भएको थियो । इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले दक्षिण लेबनान भ्रमणका क्रममा हिजबुल्लाह गम्भीर रूपमा कमजोर बनेको दाबी गर्नुभयो । उहाँका अनुसार हिजबुल्लाहले ठूलो क्षति व्यहोरेको छ र त्यसको पुनर्गठन रोक्न इजरायल तयार छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँको द्वन्द्वमा हालसम्म चार हजार एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा भएको वार्तालाई ऐतिहासिक बैठकको संज्ञा दिँदै दुवै पक्षले मिलेर मध्यपूर्वको भविष्य परिवर्तन गर्न सक्ने सम्भावनाबारे आशावाद व्यक्त गर्नुभएको छ । उहाँले अब मुख्य प्रश्न पुरानो द्वन्द्वको बाटोमा फर्किने कि नयाँ सम्बन्ध निर्माण गर्ने भन्ने रहेको बताउनुभयो ।

यद्यपि क्षेत्रभरि सक्रिय इरान समर्थित सशस्त्र समूहहरूबारे वार्तामा ठोस छलफल भएको सङ्केत भने प्राप्त भएको छैन । यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार नत्याग्ने स्पष्ट पार्दै आफ्नो देशले आणविक हतियार निर्माण गर्ने कुनै उद्देश्य नरहेको दोहोर्‍याउनुभएको छ । उहाँले इरानको बम निर्माण गर्ने कुनै योजना नरहेको कुरा लिखित रूपमा समेत दिन सकिने बताउनुभयो ।