४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विमानस्थलका कर्मचारीको सेटिङ: भिजिट भिसामा कामदार पठाउने अध्यागमनका १३ कर्मचारी विरुद्ध अख्तियारमा मुद्दा

विमानस्थलका कर्मचारीको सेटिङ: भिजिट भिसामा कामदार पठाउने अध्यागमनका १३ कर्मचारी विरुद्ध अख्तियारमा मुद्दा
अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालयकै कर्मचारीको मिलेमतोमा गैरकानुनी बाटोबाट विदेशमा नेपाली कामदार पठाइने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरूले कामदारलाई प्रस्थान अनुमति दिएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

२४८ जनालाई दिइयो प्रस्थान अनुमति
अख्तियारका अनुसार विमानस्थलका कर्मचारीसँगको मिलेमतोमा दुई सय ४८ जनालाई प्रस्थान अनुमति प्रदान गरिएको थियो । भिजिट भिसाका नाममा सरकारले प्रतिबन्ध लगाएका कामका लागि घरेलु कामदारलाई अध्यागमन प्रस्थान अनुमति दिइएको हो । गत १५ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले चलाखीपूर्ण तरिकाले लाइनमा रहेका करिब २० जना महिला यात्रुको कागजातै नहेरी अध्यागमन प्रस्थान अनुमति दिएको उजुरी अख्तियारमा परेको थियो ।

‘ड्युटी’मा रहेकै अवस्थामा तार थुतेर डेस्कमा रहेको कम्प्युटर बन्द गरी दुईवटा मोबाइल प्रयोग गर्दै शंकास्पद व्यक्तिलाई बारम्बार सम्पर्क गरी मिलेमतोमा ती महिलालाई प्रस्थान अनुमति दिएको सूचना अख्तियारले प्राप्त गरेको थियो । पराजुलीले प्रयोग गर्ने मोबाइलको ‘कल रेकर्डस्’ तथा अन्य संकलित प्रमाण र तथ्यका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट पराजुलीसहित १३ जना अध्यागमन अधिकृतबीच म्यासेज आदानप्रदान गरी दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भएको ठहर अख्तियारले गरेको छ ।

अध्यागमन प्रस्थान अनुमति प्रदान गरेबापत कर्मचारीले २४ लाख ८० हजार रुपैयाँ गैरकानुनी लाभ लिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । प्रस्थान अनुमति दिएबापत ती कर्मचारीले प्रतिव्यक्तिबाट १० हजार रुपैयाँका दरले रकम लिने गरेका थिए । एक सय ९९ जनालाई मिलेमतो र ४९ जनालाई पराजुली एक्लैले प्रस्थान अनुमति दिएका थिए । ती महिलाहरूलाई प्रस्थान अनुमति दिइएको अभिलेख विमानस्थलसँग नरहेको अख्तियारले जनाएको छ ।

बिचौलियासमेतको ‘सेटिङ’मा महिलालाई प्रतिबन्धित मुलुकमा पठाउने काममा संलग्न कर्मचारीमा पराजुलीसहितका अध्यागमन अधिकृतहरूमा मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपालीलगायत छन् । त्यस्तै, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं र कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपाने रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

विशेष अदालतमा मुद्दा दायर
मिलेमतोमा गलत लिखत सिर्जना हुने गरी अध्यागमन प्रस्थान अनुमति दिएर अनुमति दिने अधिकारीको पहिचान र अध्यागमन कार्यालयको आइएमएमआई प्रणालीमा अभिलेखसमेत लोप गरी अध्यागमन प्रस्थान अनुमति प्रदान गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १२ बमोजिम अख्तियारले ती कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (च) बमोजिम सजाय गरी अख्तियारले आरोपिविरुद्ध घुसबापत लिएको २४ लाख ८० हजार रुपैयाँसमेत असुल गरी जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ । यसैगरी, गलत लिखत सिर्जना हुने गरी प्रस्थान अनुमति प्रदान गरेको तथा अभिलेखसमेत नराखी वा नरहने गरी सार्वजनिक निकायमा रहने प्रमाणसमेत लोप हुने गरी प्रमाण नष्ट गराएको भन्दै ऐनको दफा ९ र १२ बमोजिम सजाय हुनुपर्ने दाबी अख्तियारको छ ।

शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान हुँदै
गैरकानुनी रूपमा अध्यागमन प्रस्थान अनुमति दिएर विदेश पठाउने कार्यमा संलग्न अन्य व्यक्तिउपर थप अनुसन्धान चलिरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘यो घटनामा संलग्न अन्य शंकास्पद व्यक्तिमाथि अनुसन्धान चलिरहेको छ,’ उनले भने । वैदेशिक रोजगारमा जान चाहने युवा–युवतीलाई विभिन्न प्रलोभन देखाएर प्रचलित कानुनले श्रम स्वीकृति प्रदान गर्न रोक लगाएका घरेलु कामदारलगायत कामका लागि खाडी मुलुकमा पठाई बिचौलियाले अलपत्र पार्ने गरेको र यस्ता गतिविधिमा विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्नता रहेको जस्ता गुनासो बढेपछि अख्तियारले त्यसतर्फ अनुुसन्धान अघि बढाएको थियो । नयाँ पत्रिका दैनिकबाट