काठमाडौं । सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सत्तारुढ नेकपाको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ । गौतमलाई संगठन विभाग प्रमुखसँगै उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिबाट पारित गर्ने सचिवालयको निर्णय थियो, जुन कार्यान्वयन नहुँदा दुई महिनादेखि गौतमले जिम्मेवारी सम्हाल्न पाएका छैनन् । गत ३१ साउनमा बसेको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने अध्यक्ष केपी ओलीको प्रस्तावलाई केन्द्रीय सचिवालय बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।
बैठकको निर्णयमा गौतमलाई उपाध्यक्ष बनाउनका लागि स्थायी समितिमा प्रस्ताव लैजाने भनिएको थियो । तर, अघिल्लो पुस दोस्रो साता बसेको स्थायी समिति बैठक करिब दश महिनासम्म बोलाइएको छैन । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसँगै तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालको मर्यादाक्रम एक तह तल झार्ने र त्यहाँ झलनाथ खनालको वरीयता बढुवा गर्ने सचिवालयले निर्णय गरेको थियो ।
यी दुवै निर्णयलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि साथ दिएपछि नेकपाको शीर्ष तहको समीकरण नै बदलिएको थियो । अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम नजिकिँदै गएका वेला पछिल्लो निर्णयसँगै नेपाल एक्लिएका थिए । अध्यक्ष केपी ओलीले धोका दिएकाले पार्टीमा जिम्मेवारी खुम्चिएकामा असन्तुष्ट गौतमले उनकै प्रस्तावमा महत्वपूर्ण जिम्मेवारी पाएको महसुस गरेका थिए ।
पछिल्लो प्रस्तावसँगै दुई अध्यक्षपछिको महत्वपूर्ण जिम्मेवारीका साथ प्रभावशाली भूमिकामा उदाएको महसुस गरेका गौतम लामो समयसम्म प्रस्ताव कार्यान्वयन नभएपछि भने उनले नेतृत्वले उपेक्षा गरेको आशंका गर्न थालेको उनीनिकट स्रोतले जनाएको छ ।
गौतमलाई विधानविपरीत उपाध्यक्षमा प्रस्ताव
गौतमको उपाध्यक्ष सिफारिस विधानसंगत छैन । विधानको दफा १८ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव मात्रै रहने व्यवस्था रहेकामा बैठकले गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेको हो । गौतमलाई एक्कासि उपाध्यक्षमा प्रस्ताव गरिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले घुमारो तरिकाले असन्तुष्टि जनाएका थिए ।
विधान परिमार्जनबाट वैधानिकता दिइने
गौतमलाई उपाध्यक्ष बनाउन नेकपाले विधानसमेत परिमार्जन गर्ने भएको छ । अन्तरिम विधानमा उपाध्यक्षको व्यवस्था नभएकाले आवश्यकताअनुसार केन्द्रीय कमिटीले विधान हेरफेर गर्ने महासचिव विष्णु पौडेलले बताए । ‘अहिलेको विधान महाधिवेशनले होइन, केन्द्रीय कमिटीले बनाएको हो, त्यसैले केन्द्रीय कमिटीले नै विधानमा हेरफेर गर्न सक्ने भएकाले उपाध्यक्षका सन्दर्भमा पनि विधानमा आवश्यक परिमार्जन गर्न सकिन्छ ।’ पौडेलले भने ।
ओली–गौतम नजिकिँदा सचिवालयको सन्तुलन फेरबदल
नेकपाको सचिवालय ९ सदस्यीय छ । पछिल्लोपटक नेता गौतम नजिकिएपछि ओलीसँग सचिवालयमा महासचिव विष्णु पौडेल र नेता ईश्वर पोखरेलसहित ४ सदस्य हुनेछन् । पूर्वमाओवादी समूहबाट अध्यक्ष प्रचण्डबाहेक नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’ छन् । पूर्वएमाले समूहमा झलनाथ खनाल अध्यक्ष ओली र प्रचण्ड कतैतिर खुलेका छैनन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी सञ्चालनसम्बन्धी कतिपय एजेन्डामा अध्यक्ष प्रचण्डसँग नजिक छन् । गौतम ओलीसँग नजिकिए नेकपाभित्र दुईवटा समूहमा प्रस्ट समीकरण नबन्दासम्म गुट अदलबदल भइरहने भएकाले कुन समूह बलियो छ भन्ने अंक गणितमा पनि फेरबदल भइरहनेछ ।
वामदेवलाई उपाध्यक्ष प्रस्ताव गरेपछि प्रवक्ता श्रेष्ठको प्रश्न
कमरेड वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लैजाने सचिवालयको निर्णय छ । त्यस निर्णयमा वामदेव कमरेडलाई सम्मान गरेर उचित भूमिका दिने प्रश्न र पार्टी एकतालाई अझ मजबुद बनाएर सक्रिय बनाउने प्रश्न जोडिएको छ । एकता महाधिवेशनसम्म जाँदा पार्टी एकताकै सहमति कार्यान्वयन गर्दै जाऊँ भन्ने कि बीचमा अरू निर्णय पनि गर्दै जाने ?
त्यसरी बीचमा निर्णय गर्ने हो भने किस्ता–किस्तामा गर्ने कि समग्रतामा गर्ने रु यी प्रश्न गम्भीरतापूर्वक सचिवालयमा उठेका छन् । हामी समग्रमा छलफल गरौँ भन्ने पक्षमा छौँ । वामदेव कमरेडलाई उपाध्यक्ष बनाउने कुरामा असहमति नहोला, छैन पनि । तर, यी दुई प्रश्नसँग त यो सन्दर्भ जोडियो नै । नयाँ पत्रिका दैनिकबाट