काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले यी विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन भारत र चीनसँग कुटनीतिक पहल भइरहेको बताउनुभएको हो ।
उहाँले परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा समेत विमानस्थल सञ्चालन, हवाई मार्ग विस्तार, कनेक्टिभिटी र व्यवस्थापनका विषय प्रमुख एजेण्डाका रूपमा उठाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भैरहवाको एयरपोर्ट संचालनको ल्याउन लागेको लागेकै छौँ । हामीलाई चासो छैन होला ? त्यो पोखरा, भैरहवाको ऋण तिर्ने हामी, त्यो ऋणको फाइल सदर गर्ने त मै हुन्छु, यति किस्ता तिर्नुपर्ने भनेर हरेक दिन । त्यसैले जतिसक्दो छिटो दुबै विमाणस्थल संचालनको लागी लागी परेका छोँ । परराष्ट्रमन्त्रीजी भारत जानुभयो, चीनबाट अब आज फर्कदै हुनुहुन्छ । मुख्य एजेण्डा मध्ये यो पनि छ । कसरी यी एयरपोर्टहरूलाई सुचारु गर्ने ? एयर रुट्स, कनेक्टिभिटी, एयरपोर्ट म्यानेजमेन्टका कुराहरूमा हाम्रो एकदमै प्राथमिकतामा छ । ’
उहाँले विगतमा उठाउनै नसेकका र समाधान नभएका विषयहरूमा समेत सरकारले सक्रिय रूपमा वार्ता र पहल गरिरहेको दाबी गर्नुभयो ।









