२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँकाे व्यास नगरपालिकाले फोहर बिक्रीबाट गर्‍यो रु २४ लाखभन्दा बढी आम्दानी



अ+ अ-

काठमाडाैँ । तनहुँ सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आन्तरिक आम्दानी बढाउन थालेको छ। नगरपालिकाले २०८२ वैशाख १ गतेदेखि हालसम्म फोहरबाट रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार सङ्कलित फोहरलाई पुनःप्रयोगयोग्य बनाएर विभिन्न सामग्री बिक्री गर्दा सो आम्दानी प्राप्त भएको हो। उनका अनुसार कागजजन्य वस्तु बिक्रीबाट रु ६ लाख २३ हजार १६७, प्लास्टिकजन्य वस्तुबाट रु ११ लाख ९८ हजार ५१२, धातुजन्य वस्तुबाट रु ३ लाख ९ हजार १२५, शिशाजन्य वस्तुबाट रु २ लाख ७८ हजार ७३६ तथा लिलामबाट रु ६२ हजार १० प्राप्त भएको छ।

फोहरलाई ‘मोहर’मा रूपान्तरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८१/८२ मा आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरिएको थियो। चालु आर्थिक वर्षमा साविकको मूल्यमा १० प्रतिशत थप गरी व्यास–१ स्थित तनहुँ स्क्रेप सेन्टरलाई फोहर बिक्रीको जिम्मा दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन घरमै कुहिने र नकुहिने फोहर छुट्याउने प्रणाली लागू गरेको छ। कुहिने फोहर र नकुहिने फोहरलाई छुट्टाछुट्टै सवारीमार्फत सङ्कलन गरिँदै आएको छ।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, “एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा सङ्कलन भइरहेको छ।”

फोहर बिक्रीबाट आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धि भएको उनले बताए।

यता, व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाइए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हालसम्म निर्णय प्राप्त नभएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेका अनुसार फोहर सङ्कलनकै चरणदेखि कुहिने र नकुहिने फोहर छुट्याउने र पुनः कागज, प्लास्टिक, सिसा जस्ता वस्तु अलग गरी मेसिनमार्फत कम्प्रेस गरेर बिक्रीयोग्य बनाइँदै आएको छ।

उनले भने, “तीस वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान हुन सकेको छैन। हामी निरन्तर प्रयासरत छौँ, जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको छ।”

नगरपालिकाले कुहिने फोहरलाई दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादनसमेत गरिरहेको छ। बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहर सङ्कलन हुँदै आएको छ भने दैनिक करिब ११ टन फोहर उत्पादन हुने नगरपालिकाले जनाएको छ।