काठमाडाैँ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सडक सुरक्षा र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘ट्राफिक सप्ताह २०८३’ को विधिवत शुभारम्भ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा, मधेस प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा एवं ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रमको अवसरमा नगरमा जनचेतनामूलक प्रभातफेरी समेत गरिएको छ ।
कार्यक्रममा सरोकारवालाहरुले बढ्दो सवारी चाप, सडक प्रयोगकर्ताको लापरवाही र ट्राफिक नियमको उल्लंघनका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सडक दुर्घटनाले मानव जीवन र समाजमा अपूरणीय क्षति पु¥याउने उल्लेख गर्दै यसको न्युनिकरणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको औंल्याइएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सडक प्रयोगकर्ताहरूमा चेतना जगाउन अन्तक्र्रिया, सडक सुरक्षा अभियान, विद्यालय केन्द्रित कार्यक्रम र सञ्चारमूलक प्रचारप्रसारका गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । सवारी चलाउँदा हेलमेट र सिटबेल्टको अनिवार्य प्रयोग, गति सीमाको पालना, मादक पदार्थ सेवन गरी सवारी नचलाउने र जेब्रा क्रसिङको प्रयोग जस्ता आधारभूत नियमको पालनाले ठूला दुर्घटनाबाट बच्न सकिनेमा जोड दिइएको छ ।
कार्यक्रममा वर्तमान समयमा देखिएका नयाँ सुरक्षा चुनौतीहरूका बारेमा पनि चर्चा गरिएको थियो । विशेषगरी मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, डिप फेक र हेट स्पिच जस्ता विषयले समाज र राज्यका संयन्त्रमा गम्भीर चुनौती थपेको बताइएको छ । साथै, सहकारी ठगी, हुण्डी, सम्पती शुद्धीकरण, मानव बेचबिखन र वैदेशिक रोजगारका नाममा हुने ठगी जस्ता संगठित अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरियो। अपराधको बदलिँदो स्वरूपलाई सामना गर्न डिजिटल फरेन्सिक, साइबर र सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोग र संयुक्त केन्द्रिय डाटाबेसको आवश्यकता महशुस गरिएको छ ।
पूर्वाधार विकासका सन्दर्भमा हुलाकी राजमार्गको कदम चोक र सद्भावपुर चोक क्षेत्रमा सडक साँघुरो भएका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले बाइपास सडकको आवश्यकता रहेको स्थानीय स्तरबाट माग गरिएको छ । यस्तै, ई–रिक्सा सञ्चालन र चालकहरूको अनुमति पत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियालाई थप व्यावहारिक र सहज बनाउन कानुन संशोधनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
मधेस प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेको बताउँदै प्रदेश सरकारका प्रतिनिधिले शान्ति सुरक्षा, विपद् व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा प्रविधिमैत्री प्रणाली अवलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । सडक सुरक्षा केवल प्रहरीको मात्र नभई चालक, यात्री, अभिभावक र सञ्चार माध्यमको साझा जिम्मेवारी भएको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो ।











