४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक महर

बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक महर
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ ।
बजेटले मुलुकको भौगोलिक तथा सामाजिक यथार्थलाई उपेक्षा गरेको बताउनुभएको हो ।

प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महरले सरकार र विशेषगरी अर्थमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउनु भयो । मुख्य सचेतक महरले महत्वपूर्ण मन्त्रालयहरूको बजेटमाथि छलफल भइरहँदा सदनमा मन्त्रीहरूको न्युन उपस्थिति रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

नौवटा मन्त्रालयको छलफल भइरहँदा अर्थमन्त्रीसहितका जिम्मेवार मन्त्रीहरू सदनमा उपस्थित नहुनुले संसद् र बजेटप्रतिको स्वामित्वमा प्रश्न उठाएको उहाँको तर्क थियो ।महरले वर्तमान सरकारबाट प्याराडाइम सिफ्ट गर्ने खालको बजेटको अपेक्षा गरिएको भएपनि परिणाम निराशाजनक रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्रीको विद्वत्ता बजेटको सार र व्यवहारमा नदेखिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘विद्वान अर्थमन्त्रीबाट शालीनता र नम्रताको अपेक्षा थियो, तर उहाँको शैली प्रतिपक्षलाई अपमान गर्ने र हेप्ने खालको देखियो, जसले उहाँकै विद्वत्तामाथि प्रश्न उठाएको छ ।’

बजेटले दूरदराजका क्षेत्रहरू बझाङ, अछाम, दार्चुला, बाजुरा, हुम्ला र जुम्लालाई नदेखेको महरले आरोप लगाउनु भयो । पिछडिएका वर्ग, महिला, दलित र बालबालिकाको हितमा बजेट केन्द्रित नभएको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘यो कम्युनिस्ट चरित्रको बजेट होइन । कम्युनिस्टको बजेट भएको भए शिक्षा र स्वास्थ्यमा कर लगाइँदैनथ्यो र कृषि क्षेत्रको बजेट घटाइँदैनथ्यो ।’

भौतिक पूर्वाधारतर्फ ४३० अर्बभन्दा बढी बजेट विनियोजन गरिए पनि त्यो काठमाडौं, पोखरा र तनहुँजस्ता सुगम क्षेत्रमा मात्र केन्द्रित रहेको र दुर्गम क्षेत्रलाई विभेद गरिएको उहाँले बताउनु भयो ।

शिक्षा क्षेत्रमा कुल बजेटको भार घटाइएको र सामुदायिक विद्यालयको गुणस्तर सुधारमा कुनै ठोस योजना नरहेको महरले औँल्याउनुभयो। अर्थमन्त्रीले आफू पढेको बूढानीलकण्ठ स्कुलका लागि १५ करोड विनियोजन गरेको तर देशभरका ४३ लाखभन्दा बढी विद्यार्थी पढ्ने सामुदायिक विद्यालय र त्यहाँका कर्मचारीका समस्यालाई उपेक्षा गरेको उहाँको आरोप छ । त्यसै गरी, कृषि प्रधान देशमा कृषिको बजेट अघिल्लो वर्षको तुलनामा घटाएर ४६ अर्बमा झारिएको र अनुदानको व्यवस्था पनि निश्चित ‘एलिट’ वर्गलाई मात्र पोस्ने गरी ल्याइएको उहाँले बताउनु भयो ।

महरले करका दरमा गरिएको हेरफेर र बिवाइडी गाडी आयातको सन्दर्भमा गम्भीर प्रश्न उठाउनु भयो । यसलाई ‘नीतिगत भ्रष्टाचार’ र ‘राज्यद्रोह’ को संज्ञा दिँदै उहाँले विगतका मन्त्रीहरूले प्रश्न उठ्दा राजीनामा दिएको नजिर स्मरण गराउनु भयो । अर्थमन्त्रीले सांसदहरूलाई धम्काउनुको सट्टा नैतिकताका आधारमा छानबिनका लागि तयार हुनुपर्ने उहाँको माग छ ।

‘करका दर हेरफेर र गाडी आयातको विषयमा सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गरियोस् ।’ महरले चुनौती दिँदै भन्नुभयो ।

सरकारले ६५७ अर्ब ऋण लिने लक्ष्य राखेको प्रति आपत्ति जनाउँदै उहाँले स्रोतको सुनिश्चितता नभएको बजेटलाई ‘भरिएको बेलुन’ को संज्ञा दिनुभयो । नयाँ र पुरानो शक्तिको भाष्य स्थापित गर्न खोजिएको भएपनि विचार र कार्यशैलीमा कुनै नवीनता नदेखिएको उहाँको टिप्पणी थियो ।

महरले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशिएका युवा फर्काउने ठोस योजना बजेटमा नभएको बताउनु भयो । उहाँले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई सफल बनाउन सहयोग गर्न चाहेको भएपनि बजेटका कमजोरी र अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूको चित्तबुझ्दो जवाफ नआएसम्म आलोचना जारी रहने स्पष्ट पार्नुभयो ।