१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि आचारसंहिता जारी



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि शुक्रबारबाट लागू हुने गरी आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला तथा स्थानीय तह सदस्यको निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोग प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए ।

त्यस्तै, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ । सम्बन्धित सरकारले कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । तर, लोकसेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले नियमित रूपमा गर्ने पदपूर्तिमा भने आचारसंहिता बाधक नहुने आयोगले जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि लागू गरिएको छ । जुलुस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारीसाधन प्रयोग गर्दा, प्रचारप्रसारमा सञ्चारमाध्यम प्रयोग गर्दा, निर्वाचन खर्च गर्दा, मौन अवधि र मतदानको दिन पालना गर्नुपर्ने आचरण लागू गरिएको छ ।

निर्वाचन अयोगबाट अनुमति नलिएका सवारीसाधन निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाउने आयोग प्रवक्ता श्रेष्ठले बताए । आयोगले तोकेको आकारको मात्रै ब्यानर प्रयोग गर्न पाइने भए पनि पोस्टर बनाएर प्रचारमा भने रोक लगाएको छ । केही दिनमै आचारसंहिताको पूर्ण व्यहोरा आयोगको वेबसाइटबाट प्रकाशित गर्ने तयारी छ । आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यका लागि उम्मेदवारको २४ कात्तिक र स्थानीय तहका अन्य ४८ सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली ३० कात्तिकमा प्रकाशित गर्ने तालिका छ ।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि अन्तिम परिणाम नआउँदासम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्था र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण पनि लागू गरिएको छ । स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा भयमुक्त निर्वाचन गराउन आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम उपनिर्वाचन केन्द्रीय आचारसंहिता समिति बनाइने प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचन सुरक्षा समितिको बैठक
उपनिर्वाचन उच्चस्तरीय सुरक्षा समितिको बिहीबार बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउने निर्णय गरेको छ । समिति संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह र रक्षासचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, सेनाका प्रतिनिधि र मुख्य अनुसन्धान निर्देशक उपस्थित थिए । आयोग र केन्द्रीय सुरक्षा निकायबीच सम्पर्क र समन्वयमा निर्वाचन सफल बनाउने विषयमा छलफल भएको छ । नयाँ पत्रिका दैनिकबाट