काठमाडाैँ । नेकपा (एमाले) की सांसद भुमिका लिम्बू सुब्बाले मेची राजमार्ग सडक सीमाभित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले उक्त माग गर्नुभएको हो । सांसद सुब्बाले मेची राजमार्ग अन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकहरुको घना बस्ती र बजार रहेकाले त्यसलाई भत्काउने लाखौ नागरिक घरबारविहिन हुने भएकाले सरकारले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नागरिकलाई क्षतिपूर्तिको व्यवस्था नगरी त्यसरी बस्ती उजाड बनाउने कुरा मान्य नहुने बताउनु भयो । सांसद सुब्बाले सरकारले सडक सीमा तोकेर मात्रै नागरिकलाई बस्ती बसाल्ने कुरामा सचेत गराउन जरुरी रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग आजको होइन । यो पूर्वी पहाड र तराईलाई जोडने ऐतिहासिक जीवन रेखा हो । सार्वजनिक सडक ऐन २०३१ बमोजिम सोही समयमा सडक सीमा एकीन गरी सडक आसपासका नागरिकलाई कुनै पनि संरचना बनाउँदा रोक लगाउनु पर्दथ्यो । तर सडक सीमाबारे जानकारी नगराउँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा यस क्षेत्रका लाखौ नागरिकहरुले सडक सीमा भित्रै संरचना निर्माण गरेका छन । सडक विस्तार गर्दा लाखौ नागरिकको घरहरु भत्काउनुपर्ने अवस्था छ । यसो गर्दा सिंगो पूर्वी पहाड उजाड बन्छ भने यहाँका लाखौ मानिसहरुको घर भत्किने छन ।’
सांसद सुब्बाले सरकारले नागरिकलाई विना जानकारी दुःख दिने काम गर्न नहुने पनि बताउनु भयो ।











