काठमाडौँ । वर्तमान सरकारको प्रधानमन्त्रीमा गत चैत १३ गते वालेन्द्र शाह नियुक्त भएपछि अघिल्ला सरकारहरुजस्तै सबै नेपालीले देख्ने गरेको एक दृश्यकै पर्खाइमा थिए नेपाली, भारतीय राजदूतको भेट । नेपालमा प्रधानमन्त्री बनेका जोसुकैलाई पनि सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले बालुवाटार या सिंहदरबार जहाँ मिल्छ त्यहीँ पुगेर शिष्टाचार भेट गर्ने र एउटा बुके दिएको तस्बिर सार्वजनिक गर्ने गरेको यहाँको प्रचलन नै हो ।
तर, यसपटक त्यो खबर र तस्बिरसँग साक्षात्कार गर्न पाएनन् नेपाली जनताले । र, पहिले पहिले हुने गरेजस्तै नेपालका प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने गरेको खबर पनि पाएनन् । यो सुविधा अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले त पाएनन्, तर अपवादमा झलनाथ खनाल बाहेकका अरु सबै प्रधानमन्त्रीले आफू नियुक्त भएलगत्तै भारत भ्रमण गरे ।
त्यसैले विसं २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेलगत्तै प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन गएको विषयले त भारतीय मिडियामा चर्चा नै पायो । उनी प्रधानमन्त्री बनेको केही दिनमै चीनमा बेइजिङमा ओलम्पिक खेलको समापन समारोह आयोजना गरिएको थियो र त्यसमा प्रधानमन्त्री प्रचण्ड निम्त्याइएका थिए र गए । उनीमाथि पहिलो भ्रमण किन चीन गरेको भनेर प्रश्न पनि उठेको थियो ।
यतिखेर पनि उठिरहेको छ त्यो प्रश्न तर प्रधानमन्त्री शाहले आफू एक बर्ष विदेश भ्रमण नगर्ने भनेर बसिरहेका छन् । उनको बाचा पूरा नै हुन्छ या बर्ष दिन नपुग्दै तोडिन्छ भन्ने त हेर्न बाँकी नै छ ।
यसैबीचमा वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र उनलाइ भारतले गरेको खातिरदारीको दृश्यले नेपाली मिडिया र सोसल मिडियामा पृष्ठहरु भरिएका छन् । त्यो उनको भ्रमणको विषयले होइन कि उनको भ्रमणलाई भारतले दिएको उच्च महत्वको विषयले ।
उनलाई छिमेकी भारतले दिएको यो महत्वको विषयलाई कूटनीतिक क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको पनि छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणमा जेठ १८ गते नयाँदिल्ली पुगेको रवि नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै भेटवार्ताको अवसर पायो, त्यो पनि औपचारिकता मात्र नभएर झण्डै १ घन्टा ।
त्यहाँका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर, भाजपाका पार्टी सभापति लगायतका उच्चस्तरीय पदाधिकारीसँगको भेटवार्ता त छँदै नै छ । यी सबैभन्दा पनि भारतका प्रधानमन्त्रीसँग एक घन्टा भेट सामान्य कुरा होइन । यो भेटघाटको कूटनीतिक औपचारिकतामा मात्र सीमित छैन र छ भन्न पनि मिल्दैन ।
यो भेट विशिष्ट र अर्थपूर्ण समयले गर्दा पनि भएको छ । नेपालको सत्तारुढ दलका सभापतिलाई भारतले बोलायो र दुई देशका सत्तारुढ दलका नेताहरु भेटे भन्ने मात्र यो होइन, किनभने यस समयमा भएको यो भेटमा अरु धेरै कुराको भन्दा पनि समयको अर्थ र महत्व धेरै छ ।
उनको भ्रमण यस्तो समयमा भएको छ कि गत भदौको जेनजी आन्दोलन र त्यसपछि देखि निरन्तर रुपमा नै काठमाडौंमा पश्चिमा शक्तिको प्रभाव बढेको चर्चा नेपाली समाजमा छ । यो कुरालाई चीन र भारतको समान रहेको भाष्यहरु मानिसहरु निरन्तर बनाइ नै रहेका छन् ।
अर्कातर्फ रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री छन् र उनले अहिले भारत भ्रमण नगर्ने जनाएका छन् । यसअघिका प्रधानमन्त्री ओलीले निम्ता नपाएर जान पाएनन्, तर यसपालि भने प्रधानमन्त्री स्वयं भारत नजाने बताइरहेका छन् । बाहिर आइरहेका मिडियाका कुरा सत्य हुन् भने शाहलाई भारत भ्रमणको निम्ता दिन आउन खोजेका भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण पनि यसैकारणले रोकिएको थियो ।
अर्का तर्कहरु के पनि छन् भने भारतको संस्थापन पक्ष नेपालका पुरानै दलहरु निर्णायक शक्तिका रुपमा आउन् भन्ने चाहन्थ्यो । किनभने नयाँहरु पश्चिमाबाट बढी प्रभावित भएकाले आफ्नो पक्षमा काम गर्नका लागि उनीहरु नयाँसँग सहज अनुभव गर्छन् गर्दैनन् भन्ने पनि थियो ।
यस्तो समयमा रविको भारत भ्रमण भएकाले पनि भ्रमणमा समयको बढी महत्व रहेको देखिएको हो । यही रुपमा नभए पनि यस्तै विषयहरु, परिस्थिति र समयसँग जोडेर रविको भारत भ्रमणको विश्लेषण गरिएको छ । रविको भारत भ्रमणका बारेमा अहिले धेरै विश्लेषणहरु यी र यस्तै पक्षहरुलाई जोडेर आइरहेका छन् ।
त्यसैले पनि रविलाई भारतले दिएको सम्मान अर्थपूर्ण मानिएका तर्कहरु छन् । अनि यसैसँग जोडेर फेरि भारतबाट फर्किएपछि उनले सार्वजनिक अभिव्यक्ति वा पार्टीभित्र गर्ने व्यवहारले केही न केही नयाँ संकेत गर्ने अनुमानहरु पनि अहिले नै गर्न थालिसकिएको छ । यो संकेत र सन्देश सरकार सञ्चालनमा पनि देखिने र रास्वपाको महाधिवेशनमा नै यसबारेका धेरै कुराहरु प्रकट हुने अनुमान गरिएको छ ।
अघिल्लो संसदीय चुनाव विसं २०७९ मा आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रविले सोही बर्षका केही महिनामै सानो तिनो धक्का दिएका थिए । यो निर्वाचनमा त उत्साहप्रद परिणाम निकाल्दै संसदीय राजनीतिमा आफ्नो पार्टीलाई निर्णायक शक्तिका रूपमै स्थापित गरे । त्यस यता उनले विभिन्न खण्डमा आरोह–अवरोध सामना गरे । शक्तिशाली मन्त्रालय लिएर सत्तामा पुगेका उनी लामो समय टिक्न त सकेनन् तर अहिले भने ढुक्कसँग पाँच बर्षका लागि सरकार मात्र बनाएका छैनन्, सत्तामा उनकै दलको झण्डै दुई तिहाइ नै छ ।
अहिले रवि मुलुकको प्रमुख राजनीतिक शक्तिको सभापति छन् । सोही हैसियतमा उनलाई भारतको सत्तारुढ दल भाजपाले भारत भ्रमणका लागि निमन्त्रणा गरेको हो । भाजपा यतिबेला भारतको सत्तारुढ दल हो । त्यसैले पार्टीले बोलाएको पाहुनालाई भारत सरकारले पनि उच्च महत्व दिएर स्वागत–सत्कार गर्नु राम्रो सङ्केत हो । रविलाई भारतले उच्च महत्व दिनु प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिमा योग्य नभएर हो भन्ने अर्थ केहीले लगाएका त छन् तर अहिले नै त्यो तर्क अघि सार्नु निकै चाँडो हुनेछ । दोस्रो कुरा प्रधानमन्त्री बालेनलाई साइजमा ल्याउन भारतले ‘समानान्तर कूटनीतिक’ अभ्यास थालेको भन्न पनि अहिले नै हतार हुन सक्छ ।
तर बालेनमा भन्दा उनमा धैर्यता, कूटनीतिक गाम्भीर्यता र मुलुकका राजनीतिक शक्तिहरुप्रतिको सन्तुलन भने परिपक्व नै देखिएको छ । हुनत प्रधानमन्त्री बालेनले दलहरुका बारेमा केही बोलेर प्रतिक्रिय दिएका छैनन्, तर उनले नबोलेरै दिएको सन्देश नै खतरनाक देखिएको छ । त्यसलाई मध्यमार्गमा ल्याउने धैर्यता पनि सभापति रविमाथि नै देखिएको छ । सम्भवत यो भारत भ्रमणले त्यो उनको चेतमा अझ परिपक्वता र सन्तुलन ल्याउन सक्ने देखिन्छ ,।
भ्रमण सकेर आज स्वदेश फर्किएका रविले विमानस्थलमा दिएको प्रतिक्रिया कूटनीतिक सन्तुलन कायम राख्ने खालेको थियो र त्यसले भारत भ्रमणबाट भारतले दिने प्रयत्न गरेको भन्दा पनि धेरै सन्देश रविको यो हाउभाउले बोकेको देखिएको छ । जस्तो कि उनले यसपटकको भ्रमणको सबैभन्दा ठूलो विशेषता ‘पारदर्शिता’ र विगतमा उच्च राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने र के कुराकानी भयो भन्ने थाहा नहुने परम्परा रहेकामा अहिले खुलम खुला रहेको भन्नेबाट पनि झल्किन्छ । यसपालि आफ्ना सबै बैठकहरूमा परराष्ट्र मन्त्रालयका सम्बद्ध प्रतिनिधि र राजदूतावासका कार्यवाहक राजदूत स्वयं उपस्थित भएबाट त्यो अवस्था स्पष्ट देखिएको उनको भनाई पनि प्रजातान्त्रिक थियो ।
उनले भनेका छन्— हामीले यो राजनीतिलाई अर्थ–राजनीतिमा परिणत गर्ने उद्देश्यका साथ ‘विकास कूटनीति’ लाई आधार मानेर छलफल गर्यौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षको निमन्त्रणामा भएको यो ‘पार्टी–टु–पार्टी’ भ्रमण हो। संसारकै सबैभन्दा ठूलो दल भाजपा र नेपालमा भर्खरै उदाएको हाम्रो दलबीच विचार र कार्यशैली आदानप्रदान हुँदा लोकतन्त्र थप मजबुत हुन्छ । हामी कुटनीतिक संवेदनशीलतालाई बुझ्दै दुई देशको हित र विकास कूटनीतिलाई मध्यनजर राखेर नेपाल फर्किएका छौँ । उनको यो अभिव्यक्तिबाट पनि कूटनीतिक सन्तुलन कायम राख्ना लागि र सम्बन्धका आगामी ढोकाहरुलाई थप उजागर गर्नका लागि सहायता प्रदान गर्ने देखिन्छ ।
उनले विमानस्थलमा भने ‘कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौं भनेर कुराकानी अघि बढेको छ । एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको निमन्त्रणमा भएका विषय भएकाले हामी एउटा चरणमा प्रवेश गरेका छौं । मेरो यो भ्रमणमा कुनै अस्पष्ट र लुकिछिपी केही भएको छैन । सबै देश र द्धिपक्षीय हितमा नै भएको छ । ’
रविको यो भ्रमणले काठमाडौँ र दिल्लीको दुरीलाई निकै घटाइदिएको छ । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको अवसर नकुरेका थिएनन् तर अवसर पाएनन् भन्दा हुन्छ । त्यो कोर्ष अहिले करेक्सन भएको छ र त्यो पनि प्रधानमन्त्रीका रुपमा नभएर पार्टी सभापतिका रुपमा भारतीय सरकारले दिएको ओझिलो स्वागत र सम्मानले ।
यसलाई पार्टीको मात्र सम्पत्ति र अवसरमा सीमित नराखेर सरकार र राज्यको अवसरमा रुपान्तरित गरेर दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा अझ सार्थक बनाउने बाटोमा रवि सफल हुनुपर्छ । अन्यथा, अहिलेको भ्रमणले दिन खोजेको सन्देश विगतका प्रधानमन्त्रीहरुको भ्रमणहरुको जस्तो सत्ता परिवर्तनको बाटोमा मात्र अघि बढ्ने खतरा रहन्छ ।











