काठमाडौं । नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिका बैठकहरू समेत बहिष्कार गर्ने निर्णय गरेको छ।
कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागेसम्म यही जेठ २५ गतेसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने जनाएको छ। दलका नेता भीष्मराज आङ्देम्बेले उक्त निर्णयबारे जानकारी दिएका हुन्।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ। सोही अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरोध गर्दै आएको हो।
यसैबीच, सांसदहरूलाई कानुनभन्दा माथि राख्ने गरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको आरोपसमेत लगाउँदै कांग्रेसले त्यसप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ।
पार्टीले संसदीय समितिहरूमा समेत सहभागी नहुने रणनीति अपनाएसँगै संसदको नियमित कार्यसम्पादन थप प्रभावित हुने देखिएको छ।










