काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारत प्रस्थान गर्नुभएको छ । पाँच दिन लामो भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा फर्केपछि मिडियालाई जानकारी दिने बताउनुभयो ।
सभापति लामिछाने भारतको पाँच दिन लामो भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेसँगै भ्रमणदलमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।
सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उहाँको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।











