सुनकोसीमा बस दुर्घटना हुनुमा चालक र सुरक्षा निकायको पनि गम्भीर त्रुटि देखिएको छ । ४० सिटे बसमा ७० यात्रु खाँदिएका थिए । दोलखाको मागापौवाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनास्थल पुगुन्जेलसम्म तीनवटा सुरक्षा चेकपोस्ट थिए । तर, क्षमताभन्दा झन्डै दोब्बर यात्रु खाँदिएको बस कहीँ पनि जाँच गरिएन । बरु चालक धनबहादुर श्रेष्ठले यात्रुसँग बाझाबाझ गर्दै अनावश्यक रूपमा बस कुदाए । अनियन्त्रित बस अन्ततः सुकुटेस्थित सुनकोसी नदीमा खस्यो र १८ जनाको ज्यान गयो ।
घाइते यात्रुहरूका अनुसार मुडेभन्दा तल १२ किलोमा आइपुगेपछि चालक श्रेष्ठले बस तीव्र गतिमा दौडाउन सुरु गरे । यात्रु डराएर चालकसँग बाझाबाझ गर्दै थिए, तर उनले सुनेनन्, कुदाइरहे । पुरानो गाडी तीव्र गतिले दायाँबायाँ गर्दै हल्लिँदै अनियन्त्रित भएपछि सुनकोसीमा खस्यो ।
बस दुर्घटनास्थल आइपुग्नु अगाडि खाडीचौरको जिल्ला ट्राफिक र सशस्त्र प्रहरी बलको अस्थायी चेकपोस्ट पार गर्नुपर्छ । बलेफी आएपछि प्रहरी चौकी नै छ । तर, तीनवटै सुरक्षा पोस्टमा बसका यात्रुको संख्याबारे चासो दिइएन ।
‘र्याफ्टिङ टिम’ जसले गर्यो ४० भन्दा बढी यात्रुको उद्धार: आइतबार दिउँसो १ बजेर १० मिनेट गएको थियो । सुकुटे बिच रिसोर्ट र रिभर–बेका र्याफ्टिङ टिमको गाइड टोली सुनकोसीको ट्रिप सकेर होटेलभित्र प्रवेश गरेर खाना खाने तयारी गर्दै थियो । टोलीका क्याप्टेन श्याम श्रेष्ठले मुखमा गाँस मात्रै के हालेका थिए, नजिकै गाडी ठोक्किएजस्तो ठूलो आवाज आयो । रिसोर्टबाट दुर्घटनास्थल सीधै देखिन्छ । ५० मिटरको दूरीमा गाडी पल्टेको देख्नासाथ श्रेष्ठले खाना खान छोडे । नदीबाट चिच्याहट र कोलाहल आवाज आएपछि उनले आफूसँग र्याफ्टिङ टोलीका अन्य गाइडलाई उद्धारमा खटाए ।
बस नदीमा खसेको पाँच मिनेटमै उनीहरूले उद्धारकार्य सुरु गरे । नदीको मुख्य भंगालोमा उत्तानो परेर डुबेको बा।२ख ७२४५ नम्बरको यात्रुवाहक बसबाट पाँच यात्रु आफैँ बाहिर निस्किसकेका थिए । उनीहरू आत्तिएर उद्धारका लागि चिच्याइरहेका थिए । सुकुटे बिचमा कार्यरत पहिलो बोटका श्याम श्रेष्ठ, राजकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ र सोनाम तामाङले क्षणभरमै डुबेको बसको पछिल्तिरको भाग तोडेर २० जनाभन्दा बढी यात्रुलाई बाहिर निकाले ।
उनीहरूले क्षतिग्रस्त बसमै बसेर उद्धार गरेका थिए । र्याफ्टिङ टिम चाँडो उद्धारमा नआएको भए नदीमा परेका सबैको ज्यान जाने सम्भावना पनि थियो । घटनालगत्तै उद्धारमा खटिनेमा टोली सुकुटे बिच र रिभर–वेका भाँडा माझ्नेदेखि कुकसम्म थिए ।
२० मिनेटपछि प्रहरीको टोली आइपुग्यो: दुर्घटना भएको २० मिनेटपछि बलेफीबाट प्रहरीको टोली आयो । प्रहरीले स्थानीयसँग मिलेर उद्धार कार्यलाई जारी राख्यो । तर, उद्धारको नेतृत्व र्याफ्टिङ टोलीले नै लिइरह्यो । सोही रिसोर्ट र होटेलमा कार्यरत कर्मचारीहरूको दोस्रो बोटले नदीमा बगिरहेको शव संकलन गर्यो ।
यज्ञनारायण श्रेष्ठको नेतृत्वमा भाइकाजी मगर, विकास माझी, सुभाष माझी, राम श्रेष्ठ र सानु मगरको टोलीले दुर्घटनास्थलबाट तीन किलोमिटर तल चेहेरेसम्म मृतकको शव संकलन गर्ने काम गर्यो । यो टोलीले बग्दै गरेका पाँचजनालाई उद्धार गरेको थियो । ‘हाम्रो टिम सक्रिय भएकाले बगेको शव संकलन गर्न सकियो,’ यज्ञनारायणले भने, ‘नत्र बगाएर टाढै पुर्याउँथ्यो ।’
६ वटा डुंगा र एउटा कायाक प्रयोग: उद्धार कार्यमा ६ वटा डुंगा र एउटा कायाक प्रयोग भएको थियो । घटनाको खबर सुन्नासाथ बलेफीबाट सुकुटे आएका स्थानीय र्याफ्टिङ गाइड सुमन भण्डारीले र्याफ्टिङ टोलीले जोखिम मोलेरै उद्धार कार्य गरेको सुनाए । ‘हामी नआएको भए महिला, वृद्धवृद्धा र बालबालिका कोही बँच्ने थिएनन्,’ उनले भने । दोस्रो बोटलाई फलोअप गर्दै तेस्रो बोटलाई पनि तुरुन्तै पठाइयो ।
सन्तोष श्रेष्ठ, सबिन लामा, अजय लामा, कैलाश लामा, अरुण चौधरी र चिरण लामाको तेस्रो डुंगा टोलीले उद्धारमा थप मद्दत गरेको थियो । अल्टिमेट डिस्सेन्टको एउटा बोट र एउटा कायाक, र्याफ्टिङ स्टार र माया बिचको एक–एक डुंगा नदीमा उद्धारका लागि स्ट्यान्डबाई राखिएका थिए । उद्धारमा सरकारी सुरक्षा फौजका अलावा सुकुटेका सबै स्थानीय गरिरहेको काम छोडेर आ–आफ्नै तरिकाले लागेका थिए ।
एक घन्टापछि सुकुटे आएको सशस्त्र र नेपाली सेनाको टोलीले राति अबेरसम्म थप उद्धारको काम गरेको थियो । ‘पाँचवटा शव बसभित्रबाट निकालेका थियौँ । बाँकी १० शव हाम्रै र्याफ्टिङ टोलीका साथीहरूले चेहेरेसम्म पुगेर जम्मा पारेका हुन्,’ र्याफ्टिङ टोलीका क्याप्टेन श्याम श्रेष्ठले भने ।
थप एक शव फेला, मृत्यु हुनेको संख्या १८ पुग्यो:दुर्घटनामा हालसम्म १८ को मृत्यु भएको छ । सोमबार दिउँसो सुुकुटे रिसोर्टछेउबाट थप एक शव प्रहरीले फेला पारेको छ । दुईजनाको उपचारको क्रममा धुलिखेल र शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको थियो । घाइते ५१ मध्ये पाँचको मात्रै उपचार भइरहेको र अधिकांश अस्पतालबाट डिस्चार्ज भएको धुलिखेल अस्पतालले जनाएको छ ।
दोलखा शैलुङ गाउँपालिकाका सातजना अझै बेपत्ता छन् । शैलुङका नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखा शैलुङका स्थानीयले सोमबार घटनास्थल सुकुटे आएर अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका आफन्तले सडक बन्द गरेको जिल्ला प्रहरीले बताएको छ । नयाँ पत्रिका दैनिकबाट