२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा



अ+ अ-

काठमाडौँ।  काठमाडौँ महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ ।

सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वडा नं ११ कार्यालयले तीर्थयात्रा गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका व्यक्तिसँग सामूहिक खाना र खाजा खाँदा उहाँहरूको अनुहारमा खुसीको आभास थियो ।

तीर्थयात्रामा सहभागी ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकामा आनन्द अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ७० वर्षीया इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका पीडा बिर्सिन सजिलो हुने धारणा राख्नुभयो ।
यस्तै, ७१ वर्षीया मीरा डङ्गोल महर्जनले र ७५ वर्षीया हिरामाया महर्जनले अनुभव सुनाउँदै भन्नुभयो, “मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र हुँदो रहेनछ । समाज र आफूजस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।”

अर्का ज्येष्ठ नागरिक ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भन्नुभयो, “सहरको जीवन एक्लै जस्तै हुने, आज आफ्नै उमेर समूहका अन्य साथीलाई भेट्दा खुब रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका जस्तै भयो । पीडा कम भयो ।”

उहाँले महानगरले यस्तो कार्यक्रम नियमित आयोजना र अन्य समयमा औषधि, उपचारलगायत काममा पनि सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

महानगर भवन व्यवस्था समितिका संयोजक एवं वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, “हाल घरमा ज्येष्ठ नागरिकले एक्लो जीवन बाँच्नुपर्ने अवस्था छ । रुचि र अरुचिका कुरा सोध्ने पनि छैनन् । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । त्यसैले तीर्थयात्रामा लिने कार्यक्रम गरेका हौँ ।”

वडामा आठ सय ५० भन्दा बढीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहनुभएको छ । यस वर्ष एक सय ५१ जनालाई पोषण भत्ताबापत हरेकलाई रु १२ हजार प्रदान गरिएको छ ।

यो सङ्ख्या गएको वर्ष एक सय ८१ थियो । वडामा पोषणभत्ता प्राप्त गर्ने नौ जना पूर्ण अपाङ्गता, १५ जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका सात जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन् । रासस