काठमाडौँ । सन्नी लियोनी अहिले आफ्नो एउटा गीतको विवादका कारण चर्चामा छिन् । सन्नी हालै कनिका कपुरले गाएको ‘मधुबन मे राधिका नाचे’ गीतमा देखिएकी छिन् । सन्नी र कनिका यो गीतको प्रचार गर्न केही दिनअघि ‘बिग बोस १५’ पुगेका थिए ।
तर अहिले यो गीतका कारण मुस्किल भइरहेको छ । यो गीत हेरेपछि केही प्रयोगकर्ताहरु आक्रोशित भएका छन् र भिडियोलाई युट्युबबाट हटाउन माग गरिरहेका छन् । यसले हिन्दूहरुको भावनामा चोट पुगेको प्रयोगकर्ताहरुको भनाइ छ ।
युट्युबमा प्रयोगकर्ताले ‘मधुबन’ गीत र यसको निर्माताप्रति निकै आक्रोश पोखेका छन् । उनीहरुले उक्त भिडियोलाई आपत्तिजनक र अश्लील भन्दै उक्त गीतलाई तत्काल हटाउन माग गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “तपाइँंहरु किन हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्याउँदै हुनुहुन्छ ? कृपया यस्तो नगर्नुहोस्।”
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “म अचम्ममा छु कि यो गीतको निर्माणमा संलग्न कसैले पनि यसलाई रोक्ने प्रयास गरेनन् । निर्मातादेखि निर्देशकसम्म के उनीहरूलाई थाहा छ गीतमा के शब्दहरू छन् र कुन म्युजिक भिडियोको लागि उनीहरूले प्रयोग गरिरहेका छन् भन्ने कुरा ?”
सन्नी र कनिकाको यो गीत बुधबार रिलिज भएको थियो र केही घण्टामै यो गीतलाई १७ लाखभन्दा बढी पटक हेरिएको छ ।









