११ भाद्र २०८३, बिहीबार
,
Latest
जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावितको पुनर्निर्माणमा सरकार उदासिन भएको सांसद शर्माको आरोप, तत्काल अनुदान उपलब्ध गराउन माग



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

२०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौँ नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उहाँले सदनलाई जानकारी गराउनु भयो ।

सांसद शर्माले प्राकृतिक विपत्तिबाट प्रभावित जनतालाई राज्यले अभिभावकीय भूमिका प्रदान गर्नुपर्नेमा वर्तमान सरकार गैरजिम्मेवार र मूकदर्शक बनेको आरोप लगाउनु भयो ।

संघीय सरकारले खटाएको प्राविधिक टोलीको विस्तृत क्षति मूल्याङ्कन (डीभीए) प्रतिवेदनअनुसार रुकुम पश्चिममा मात्रै १४ हजार ५ सय ७९ घर पुनर्निर्माण र ११ हजार ५५९ घर प्रवलीकरण गर्नुपर्ने देखिएको उहाँले उल्लेख गर्नुभयो ।

साथै, ५ हजार ४९६ घर अझै प्रणालीमा समावेश हुन बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले समस्याको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले डीभीए भएका घरहरूको सम्झौता तत्काल अघि बढाउन र बाँकी घरहरूको पुनः मूल्याङ्कन गरी अनुदान उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भूकम्प पुनर्निर्माणका लागि प्राधिकरणको खातामा झण्डै ३ अर्ब रुपैयाँ जम्मा भए पनि तोकिएको अनुदान वितरण गरिएको छैन । सरकारले जाजरकोटको रिम्नामा कार्यालय स्थापना गरे पनि जनशक्ति परिचालन नगर्दा काम अगाडि बढ्न सकेको छैन । सिंहदरबारको भव्य संरचनाबाट शासन चलाउनेहरू जनताको सुरक्षित आवासको मौलिक हकप्रति किन संवेदनशील छैनन् ?’

सांसद शर्माले सरकारको पछिल्लो कार्यशैलीको कडा आलोचना समेत गर्नुभयो । उहाँले सुकुम्वासी बस्तीमा विना कुनै तयारी र छानबिन निर्दयतापूर्वक डोजर चलाइएको, राजनीतिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजिएको र न्यायालयलाई सरकारी आग्रहबाट सञ्चालन गर्न खोजिएको दाबी गर्नुभयो । संविधानको धारा १६७ (६) को प्रतिकूल हुने गरी सेनालाई सुकुम्वासी बस्ती भत्काउन परिचालन गरेर विवादमा तानिएको उहाँको भनाइ थियो ।

सांसद शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सङ्कट, बढ्दो महँगी र जनजीविकाका समस्याप्रति सरकार बेखबर रहेको टिप्पणी गर्नुभयो । सरकारले सार्वभौम संसद्लाई छल्ने र अपमान गर्ने व्यवहार देखाएको उल्लेख गर्दै उहाँले वर्तमान सरकार निरङ्कुश, स्वेच्छाचारी र अहङ्कारी बाटोमा हिँडिरहेको आरोप लगाउनु भयो । सरकारलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गर्दै उहाँले जनताको पक्षमा रचनात्मक काम नगरे विरोधमा उत्रिन बाध्य हुने चेतावनी समेत दिनुभयो ।