१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउछौँ – मन्त्री रेग्मी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गरिने बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्ष माथि पुगेका जेष्ठ नागरिकलाई सरकारले घर–घरमै भत्ता पुर्‍याउने  बताउनुभयो । ९० वर्ष माथि पुगेका जेष्ठ नागरिकहरु शारिरिक रुपमा अशक्त भएको कुरालाई दृष्टिगत गर्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्‍याउने व्यवस्था सरकारले गरेको र छिट्टै कार्यान्वयन हुने उहाँले बताउनुभयो । 

त्यसैगरी रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पुर्‍याउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘जेष्ठ नागरिकहरु जो ९० वर्ष माथि पुग्नुभो । जो बेडमा पर्नुभाको छ र अपांगता भएका व्यक्तिहरु जो रातो कार्ड पाउनुभएको छ । उहाँहरु बेडमा हुनुहुन्छ, बैंक जान सक्नुहुन्न । 

त्यस्तै अरु जसले भत्ता पाउने अधिकार राख्नुहुन्छ तर उहाँहरु बैंक जान सक्नुहुन्न । त्यस्तोहरुलाई जसरी हुन्छ, स्थानीयले बैंकसँग समन्वय गरेर हातहातमा भत्ता पुर्‍याइदिने बैंकले, त्यो व्यवस्था गर्नुपर्छ भनेर त्यसमा लागिरहेका छौँ । संघीय मामिला मन्त्रालयसँग पनि बैठक गरेर त्यो कुरालाई कार्यान्वयनको पक्षमा जाने भन्ने कुरा पास भइसकेको छ । त्यस्तै प्रकारले यातायातमा पनि ५० प्रतिशत भाडा छुट छ, अपांगता भएका व्यक्तिलाई र जेष्ठ नागरिकहरुलाई तर त्यो कार्यान्वयन हुन सकेको छैन । त्यसमा कसरी कार्यान्वयन गराउन सकिन्छ, ति कुराहरुमा पनि हामी लागिरहेका छौँ ।’

उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको पनि बताउनुभयो ।