२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको खोजि गर्दै कानून व्यवसायीको प्रदर्शन (तस्बिरहरु)



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप भएको र प्रशासन संयन्त्रले समानान्तर शासन चलाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

बारले मंगलवार दिउँसो लाल्टिन बालेर सांकेतिक रूपमा न्याय र विवेकको खोजी गर्दै विरोध प्रदर्शन गरेको हो । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले पदभार ग्रहणका क्रममा आफूले उठाएको ‘न्यायालयभित्र दुईवटा संयन्त्र’ सक्रिय रहेको विषय अहिले पुष्टि भएको बताउनु भयो ।

उहाँकाअनुसार सर्वोच्च अदालतमा न्याय प्रदान गर्ने न्यायाधीशहरूको एउटा संयन्त्र र मुद्दा मामिला रोक्न खोज्ने प्रशासनको अर्को संयन्त्र गरी ‘द्वैत शासन’ हाबी भएको छ । प्रश्तावित प्रधानन्यायाधीशको नियुक्तिको सन्दर्भमा जारी अध्यादेश र सिफारिस त्रुटिपूर्ण रहेको भन्दै परेका निवेदनहरूलाई सर्वोच्च प्रशासनले नियतवश रोकेको बारको आरोप छ । अदालत, अस्पताल, विद्यालय र मन्दिर जस्ता निकाय कहिल्यै बन्द हुन नहुने भन्दै उहाँले विगतमा वरिष्ठतम न्यायाधीशहरूको उमेर सम्बन्धी विवादमा तत्काल रिट दर्ता भएको नजीर स्मरण गराउनु भयो । कुन विषय सुनुवाई हुने वा नहुने भन्ने निर्णय गर्ने अधिकार बेन्चको भएको, तर प्रशासनले नै त्यसलाई रोक्नु दुःखदायी रहेको उहाँको तर्क छ ।

अध्यक्ष मिश्रले भन्नुभयो, ‘कायममुकायम प्रधानन्यायाधीशले निवेदन तुरुन्त दर्ता गर्न निर्देशन दिँदा समेत प्रशासनले त्यसलाई इन्कार गर्नु दुर्भाग्यपूर्ण छ । न्यायपालिकामा प्रशासनले अधिकारभन्दा बाहिर गएर ‘म्युट मोड’ वा ‘सटडाउन मोड’ मा काम गर्नु स्वीकार्य छैन । एउटा सेटिङको विरोध गरेर अर्को सेटिङ स्थापना गर्नु नेपाली जनताका लागि दुर्भाग्यपूर्ण स्थिति हो। यसले भविष्यमा बहुमत आउँदा पुनः पालो मिचिने नराम्रो नजीर बसालेको छ ।’

बारले प्रधानन्यायाधीशको सिफारिसमा वरिष्ठताक्रम मिचिएकोप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । निश्चित अवधि तोकिएका न्यायाधीशलाई छाडेर लामो अवधिका लागि प्रधानन्यायाधीश सिफारिस गर्नुलाई बारले ‘सेटिङ’ को संज्ञा दिएको छ । अध्यक्ष मिश्रले सरकारलाई न्यायाधीशहरूको पदावधि कमजोर पार्ने, उनीहरूलाई हैरानी दिने वा पद त्याग गर्न धम्क्याउने जस्ता क्रियाकलाप नगर्न चेतावनी दिनुभएको छ ।

साथै, कानून व्यवसायी पृष्ठभूमिबाट सांसद बनेकाहरूलाई संविधानको धारा १०५ को पालना गर्न र संसदमा न्यायाधीशहरूको विषयमा अनावश्यक छलफल नगर्न आग्रह गर्नुभएको छ । हाल बारको कम्पाउण्डमा सीमित रहेको आन्दोलनलाई आवश्यकता परे अदालतको भित्रैसम्म लैजाने चेतावनी दिनुभयो । १०९ दिनको लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउन खोजिए देशभरका बार इकाइहरूसँगको समन्वयमा आन्दोलन विस्तार गरिने अध्यक्ष मिश्रले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल