८ असार २०८३, सोमबार
,
Latest
लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सतीप्रथा उन्मूलनका प्रेरक बालागुरु षडानन्द



अ+ अ-

काठमाडौँ । नेपालमै पहिलोपटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गर्नुभएका बालागुरु षडानन्दले विसं १९४० मा सती जान बाध्य पारिएका दुई महिलालाई मृत्युको मुखबाट बचाएर समाज सुधार आरम्भ गर्नुभयो ।

भोजपुर वितलवका ७० वर्षीय हरिलाल लम्सालको निधन हुँदा समवयी जेठी श्रीमती र १८ वर्षीय कान्छी श्रीमतीलाई सतीका रूपमा पठाउन बेग्लाबेग्लै डोलीमा राखिएको थियो । स्थानीयवासी नन्दीकेश्वर अधिकारीबाट यसको जानकारी पाएपछि षडानन्द लम्सालको घरतर्फ लाग्नुभयो ।

बाटो लागिसकेको शवयात्रालाई रोकी मलामीलाई दुवै महिलालाई सती पठाउन नहुने भनी उहाँले सम्झाएपछि दुई जनाको जीवन बचेको षडानन्दका विषयमा अध्ययन अनुसन्धानमा लाग्नुभएका प्रा डा गोविन्दमानसिंह कार्की बताउनुहुन्छ । षडानन्दले आफ्नी आमा रुक्मिणीको निधन भई अरुण नदीको सतीघाटमा अन्तिम संस्कारका लागि गएका बेला अरुणपारि मृतक पतिसँगै पत्नीलाई जलाएको घटना सुन्नुभएको थियो । त्यहीबेलादेखि उहाँ यो अमानवीय प्रथाको अन्त्यका लागि दृढसङ्कल्पित हुनुभएको थियो ।

सुदूर पूर्व भोजपुरको दिङ्लाबाट बालागुरु षडानन्दले शुरु गर्नुभएको अभियानले विसं १९७७ मा साकार रूप लियो । तत्कालीन श्री ३ राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सतीप्रथा उन्मूलनको घोषणा गर्नुभयो । शिक्षासेवामा महत्वपूर्ण योगदान गर्नुभएका षडानन्दले सतीप्रथा उन्मूलनका लागि राणा सरकारलाई उत्प्रेरित गर्नुभएको थियो ।

विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाउनुभएको थियो । राजधानी शहरमा समेत राणा र उच्चवर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो ।

त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चिजबिजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाउनुभयो । यसले भोजपुर र सङ्खुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।

त्यसैबेलादेखि दिङ्लामा स्थापना भएका शिवालय एवं राम, सीताका मन्दिरमा बाला चतुर्दशी र रामनवमी पर्वको मेला शुरु भयो । मेलामा पनि बजार लाग्ने व्यवस्था मिलाएपछि त्यस क्षेत्रका मानिसको जीवनयापनमा सजिलो भयो ।

षडानन्दले बगैँचा स्थापना गरेर धेरै प्रकारका बिरुवा लगाउनुभयो । त्यस क्षेत्रका वनजङ्गलमा प्रशस्त हुने रुद्राक्षलाई उहाँले व्यावसायिक खेती गर्न जनतालाई प्रेरित गर्नुभयो । यो खेती हाल भोजपुर, सङ्खुवासभा र धनकुटाका विभिन्न स्थानमा भइरहेको छ र यसले अर्थोपार्जनमा सहयोग गरेको छ । डेढ सय वर्षअघि देखि वन संरक्षण शुरु गरेकैले यस क्षेत्रको पर्यावरण सुधारमा योगदान गरेको दिङ्ला पुख्र्यौली थलो भएका दयाकृष्ण न्यौपाने बताउनुहुन्छ ।

षडानन्दले विसं १९४० मै जगेडा वनको अवधारणा ल्याउनुभएको थियो । उहाँको सोचअनुसार स्थापना भएको वनलाई हाल विकासका नाममा वन विनाश गर्न थालेको राजधानीमा बस्दै आएका भोजपुरवासीको गुनासो छ । नेपालमै पहिलोपटक सामुदायिक वनको सोच अघि सार्नुभएका षडानन्दको यो पाटो ओझेलमा परेको इन्द्रमणि सुवेदी बताउनुहुन्छ ।

अष्ट्रेलियाली वन परियोजनाले पञ्चायतकालमा सिन्धुपाल्चोकको ठोकर्पामा शुरु गरेको अभियानलाई पहिलो सामुदायिक वनको शुरुआत भनिएकामा उहाँको आपत्ति छ । वनलाई समुदायको हितमा उपयोग गर्ने षडानन्दको योगदान बिर्सन नहुने सुवेदीको माग छ ।

रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चापागाईं षडानन्दको कालदेखि नै भोजपुर र यस वरपरका जिल्लामा शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा भएको विकासले पूर्वी क्षेत्रको अर्थतन्त्र धानिएको बताउनुहुन्छ ।

बालागुरु षडानन्दले शिक्षा र समाज सुधारका धेरै क्षेत्रमा पु¥याउनुभएको योगदानको अध्ययन गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले अध्ययन कक्षको स्थापना गर्ने प्रतिबद्धता कुलपति गङ्गाप्रसाद उप्रेतीले व्यक्त गर्नुभयो ।

प्रतिष्ठान र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक गोष्ठीमा उहाँले विद्वानको समूह बनाई प्रज्ञा मातहतमै अध्ययन अनुसन्धान गराइने जानकारी दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले राणाकालमै पूर्वी नेपालमा बालेको अध्यात्मको ज्योति निभेकाले त्यसलाई पुनर्जीवित गर्न पनि थप अध्ययन–अनुसन्धानको आवश्यकता रहेको औँल्याउनुभयो । मन्त्रमा विज्ञानलाई ‘फेल’ गराउने ज्ञान भएकाले दिङ्लाको अध्यात्मको ज्योति फेरि जगाउनुपर्ने उहाँको भनाइ थियो ।

षडानन्दले विसं १९४० मा बहुआयामिक उद्देश्य समेटेको सीताराम गुठी स्थापना गर्नुभयो । गुठीअन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचना, धार्मिक सांस्कृतिक कामको उन्नयन एवं व्यवस्थापनका साथै ऋण प्रदान सेवा पनि समेटिएको उहाँका विषयमा अन्वेषण गरिरहनुभएका यादव चापागाईं बताउनुहुन्छ ।

गुठीमा तीन हजार २१७ रोपनी जग्गा राखिए पनि हाल त्यो मासिएर करिब ९०० रोपनीमा सीमित भएको छ । राजनीतिक दाउपेचले सामाजिक हितमा उपयोग हुँदै आएको गुठी जग्गा संरक्षण हुन नसकेको स्थानीयवासी परशुराम कट्टेल बताउनुहुन्छ ।

मासिएको गुठी जग्गाको खोजीमा स्थानीय सरकार लागिपरेको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले सुनाउनुभयो । पुरातात्विक महत्वका सिँढी, राम, सीता र हनुमानका नाममा स्थापना भएका कुण्ड पनि पुनर्निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । गुठी व्यवस्थापनका लागि नगरपालिकामा गुठी शाखा नै स्थापना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गुठीको अध्यक्ष रहनुभएका दिङ्लावासी कृष्णप्रसाद पौडेल जग्गासमेत भएकाले षडानन्दको योगदानको कदरका लागि विश्वविद्यालय स्थापना गर्न ढिलाइ गर्न नहुने माग गर्नुहुन्छ । तीनै तहका सरकारको सक्रियतामा कृषि वा अन्य नामका विश्वविद्यालय बनाउन सकिने दिङ्लावासीको माग छ ।

षडानन्द र योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने षडानन्द प्रतिष्ठानका सदस्यसचिव लालनाथ सुवेदीले बताउनुभयो । समाजसुधारका क्षेत्रमा योगदान गर्नुभएका दुवैको योगदानको कदर गर्दै विभूति घोषणामा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।