२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दुई पति’ विज्ञापनमा चीनको आपत्ति



अ+ अ-

बेइजिङ। चीनमा विवाह दर लगातार घटिरहेका बेला पारिवारिक मूल्य र सामाजिक नैतिकतालाई लिएर सरकारी संवेदनशीलता फेरि सतहमा आएको छ । उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी ओपोले सार्वजनिक गरेको एउटा विज्ञापनले सामाजिक सञ्जालमा चर्चा पाएपछि चिनियाँ अधिकारीहरूले त्यसलाई ‘अनुचित’ भन्दै आलोचना गरेका छन् । विवाद बढेपछि कम्पनीले आफ्ना केही वरिष्ठ अधिकारी र मार्केटिङ व्यवस्थापकलाई ‘कडा सजाय’ दिएको जनाएको छ ।

घटना एउटा छोटो प्रचार सामग्रीबाट सुरु भएको थियो । सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा शुक्रबार सार्वजनिक गरिएको पोस्टमा लेखिएको थियो, “मेरी आमाका दुई ‘पति’ छन्, एक मेरा बुबा हुन्, अर्को वर्षमा दुई पटक देखापर्छन् ।”

विज्ञापनमा उल्लेख गरिएको दोस्रो ‘पति’ वास्तविक वैवाहिक सम्बन्ध नभई महिलाले मन पराउने सेलिब्रेटीलाई सङ्केत गर्ने शैलीमा प्रयोग गरिएको थियो । कम्पनीका अनुसार उक्त अभियान आधुनिक चिनियाँ आमाहरूको बदलिँदो र विविध जीवनशैली देखाउने उद्देश्यले तयार गरिएको थियो, जसमा सेलिब्रेटीप्रतिको आकर्षणजस्ता सांस्कृतिक पक्षलाई हल्का व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको थियो ।

तर पोस्ट सार्वजनिक भएको केही समयमै आलोचना सुरु भएपछि ओपोले विज्ञापन हटाएको थियो । कम्पनीले त्यसपछि जारी गरेको वक्तव्यमा विज्ञापनको उद्देश्य गलत रूपमा बुझिएको दाबी गर्दै त्यसले कुनै सामाजिक मूल्य वा पारिवारिक सम्बन्धलाई अपमान गर्ने आशय नरहेको स्पष्ट पारेको थियो ।

यद्यपि विज्ञापन हटाइए पनि विवाद रोकिएन । सप्ताहन्तभरि सरकारी निकाय र केही आधिकारिक संस्थाहरूले उक्त सामग्रीलाई सामाजिक मूल्यविरुद्धको अभिव्यक्तिका रूपमा चित्रण गरे ।

पूर्वी चीनको झेजियाङ प्रान्तको प्रचार विभागले आइतबार जारी गरेको वक्तव्यमा ‘दुई पति कुनै पनि हिसाबले रमाइलो विषय होइन’ भन्दै आलोचना गरेको छ । वक्तव्यमा बजार विस्तारका लागि युवापुस्तालाई आकर्षित गर्ने नाममा सामाजिक संवेदनशीलता बेवास्ता नगर्न ब्रान्डहरूलाई चेतावनी दिइएको छ ।

प्रचार विभागले ‘सीमाहीन सृजनात्मकता’ लाई गलत दिशातर्फ लैजाने प्रवृत्ति भएको टिप्पणी गर्दै व्यापारिक प्रचारमा सामाजिक उत्तरदायित्व आवश्यक रहेको उल्लेख गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चाइना एडभरटाइजिङ एसोसिएसनले पनि ओपोको विज्ञापनलाई नैतिक सीमाभन्दा बाहिर गएको भन्दै आलोचना गरेको छ ।

विवाद चर्किएपछि ओपोले सोमबार एक वरिष्ठ उपाध्यक्षसहित केही मार्केटिङ प्रबन्धकलाई कारबाही गरिएको जनाएको छ । कम्पनीले उनीहरूले ‘मुख्यधाराको सामाजिक मूल्यलाई बेवास्ता गरेको’ निष्कर्ष निकाल्दै अनुशासनात्मक कदम चालिएको बताएको छ ।

यो विवाद चीनमा घट्दो विवाहदर र जन्मदरलाई लिएर सरकार बढ्दो रूपमा चिन्तित भइरहेका बेला सार्वजनिक भएको हो । पछिल्लो एक दशकमा चीनको जन्मदर लगभग आधा घटेको छ । त्यसपछि बेइजिङले ‘प्रसवमैत्री समाज’ निर्माण गर्ने नीतिलाई प्राथमिकतामा राख्दै विवाह, परिवार र सन्तान जन्मलाई प्रोत्साहन गर्ने अभियान तीव्र बनाएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो तीन महिनामा करिब १७ लाख विवाह दर्ता भएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव २ प्रतिशतले कम हो । विवाहदरमा आएको निरन्तर गिरावटलाई चीनको दीर्घकालीन जनसाङ्ख्यिकीय सङ्कटसँग जोडेर हेरिएको छ ।

सरकारी निकायहरूले विज्ञापनलाई परिवार र आमाप्रति असम्मानजनक भएको तर्क गरे पनि सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले भने यसलाई अतिरञ्जित प्रतिक्रिया भनेका छन् ।

वेइबोमा एक लोकप्रिय प्रतिक्रियामा ‘म त हाँस्दा–हाँस्दा मरिहालेँ’ लेखिएको थियो । अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै ‘ओपोले बल्ल आफ्ना धेरै ग्राहकका फोन वास्तवमा उनीहरूका पति वा प्रेमीले किनिदिएका हुन्छन् भन्ने थाहा पाएछ’ भनेर टिप्पणी गरेका थिए । (रासस/एएफपी)