२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेयर कप’ तेक्वान्दोमा काठमाडौं महानगर टिम–ए च्याम्पियन



अ+ अ-

काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भएको “स्व. पि.एल. सिंह स्मृति छैटौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३” सम्पन्न भएको छ ।

वैशाख २४ गतेदेखि २६ गतेसम्म दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजित प्रतियोगिताको समापन कार्यक्रम जैशिदेवल युथ क्लवका अध्यक्ष राजेश प्रजापतिको सभापतित्व तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका २० नगरपालिकाबाट गेरोगी, पुम्से तथा पारा विधामा गरी ३२२ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई एग्राे थाइ फुड्स प्रा.लिका तर्फबाट १ केजी तौलको चाँदीको रनिङ शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगितामा १४ स्वर्ण र ४ रजत पदकसहित आयोजक टोली काठमाडौं महानगरपालिका टिम–ए (जैशिदेवल युथ क्लव) प्रथम बन्दै चाँदीको रनिङ शिल्ड उचाल्न सफल भयो । यस्तै, २ स्वर्ण, ४ रजत र ४ कांस्य पदकसहित महालक्ष्मी नगरपालिका दोस्रो तथा १ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित चन्द्रागिरि नगरपालिका तेस्रो भएको छ ।

पुरुष पुम्सेतर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने महिला पुम्सेतर्फ आयोजक काठमाडौं महानगरपालिकाकी वितिशा तामाङ उत्कृष्ट खेलाडी बनिन् । त्यसैगरी पुरुष गेरोगीतर्फ आयोजक टोलीका गयाल्जेङ तामाङ र महिला गेरोगीतर्फ तारकेश्वर नगरपालिकाकी कृतिका थापा मगर उत्कृष्ट खेलाडी घोषित भए ।

काठमाडौं महानगरपालिकाका प्रशिक्षक अन्जित राई उत्कृष्ट प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक गौरव रजक उत्कृष्ट निर्णायक घोषित भएका छन् । उत्कृष्ट घोषित सबै ६ जनालाई जनही १०० अमेरिकी डलर नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

समापन कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष राजेश प्रजापतिले प्रतियोगितामा सहभागी सबै खेलाडीको सहभागिता निःशुल्क गरिएको, खेलाडीहरूको दुर्घटना बीमा गरिएको तथा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अभिभावकका लागि नास्ता तथा खानाको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार सहभागी सबै खेलाडीलाई टिसर्ट, प्रशिक्षक तथा निर्णायकलाई ज्याकेट र आयोजक टोलीका खेलाडीलाई ट्रयाकसुट प्रदान गरिएको थियो । यस वर्ष प्रतियोगितामा पारा विधासमेत समावेश गरिएको उनले बताए ।