काठमाडाैँ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले यातायात क्षेत्र अहिले बहुआयामिक समस्याबाट गुज्रिरहेको बताउनुभएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले बढ्दो इन्धन मूल्य, सवारीसाधनका पार्टपुर्जाको महँगो लागत, बैंकहरूको उच्च ब्याजदर, करको चर्को भार, अस्वस्थ प्रतिस्पर्धा, सडकको दयनीय अवस्था र नीतिगत अस्थिरताले यातायात व्यवसायीहरू गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार डिजिटल प्रविधिको नाममा अनियन्त्रित र अव्यवस्थित प्लेटफर्महरूको प्रवेशले परम्परागत यातायात व्यवसाय थप दबाबमा परेको छ। राज्यले स्पष्ट नीति, समान अवसर र व्यवसायमैत्री वातावरण निर्माण गर्न नसक्दा समस्या अझ गहिरिएको उहाँको भनाइ थियो।
अध्यक्ष श्रेष्ठले राज्यको न्यून लगानी र नयाँ प्रविधिलाई व्यवस्थित रूपमा समायोजन गर्न नसक्दा नेपाली जनताको लगानी नै जोखिममा परेको बताउनुभयो। उहाँले केवल सवारीसाधनको आयु तोकेर व्यवसाय अन्त्य गर्ने नीति उपयुक्त नभएको उल्लेख गर्दै समयअनुकूल रूपान्तरण र व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन गर्न राज्यले लगानी वृद्धि गर्नुका साथै स्पष्ट नीतिगत व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो। साथै, व्यवसायीहरू एकताबद्ध भएर आफ्ना अधिकार र समस्याका समाधानका लागि आवाज उठाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा उहाँले भन्नुभयो, “आज यातायात क्षेत्र अनेकौं समस्याबाट गुज्रिरहेको छ। बढ्दो इन्धन मूल्य, पार्टपुर्जाको महँगो लागत, बैंकको चर्को ब्याजदर, करको भार, अस्वस्थ प्रतिस्पर्धा, सडकको दयनीय अवस्था र नीतिगत अस्थिरताले व्यवसायीहरू चिन्तित छन्। डिजिटल प्रविधिका नाममा आएका अनियन्त्रित प्लेटफर्महरूले थप दबाब सिर्जना गरेका छन्। राज्यले स्पष्ट नीति र व्यवसायमैत्री वातावरण बनाउन नसक्दा समस्या बढेको छ। त्यसैले राज्यले यस क्षेत्रलाई समयअनुकूल रूपान्तरण गर्दै व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यक छ।”
अध्यक्ष श्रेष्ठले व्यवसायीहरूलाई पनि एकताबद्ध भएर दीर्घकालीन समाधानका लागि साझा रूपमा अघि बढ्न आग्रह गर्नुभयो।
न्यूजपोलार
२७ बैशाख २०८३, आईतवार १६:४०
न्यूजपोलार
२७ बैशाख २०८३, आईतवार १६:४०
२७ बैशाख २०८३, आईतवार १६:४०










