२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान



default
अ+ अ-

म्याग्दी। वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरुको घुम्ती गोठ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सिमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तब्यका रूपमा विकास हुन थालेको छ ।

समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताउनुभयो ।

“धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सिमित थियो,” उहाँले भन्नुभयो, “धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।”

दोभानदेखि एक दिनको पैदलयात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ । गोलो आकारको कुनावाङ तालमा पातपतिङ्गर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताउनुभयो । “कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको बासस्थानको पनि अध्ययन गरिरहेका छन,” उहाँले भन्नुभयो “बगर हुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहलपहल बढेको छ ।”

दोभान नजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताउनुभयो । बस्ति देखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तब्य भएको आन्तरिक पर्यटक चिरन्जिवी पौडेलले बताउनुभयो । बसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ ।

दोभानमा पर्यटकको सुविधाका लागि दुई वटा होटल छन् । त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँचमार्ग निर्माण गरेपछि त्यहाँ जिप र मोटरसाइकल पुग्न थालेका छन् ।

धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माण स्थलसम्म नौ किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको छ यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिड्नुपर्ने थियो ।

बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधार शिविर जाने पदमार्ग र हेलिकप्टर प्रयोग गर्न थालेपछि चहलपहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् । रासस