२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी



अ+ अ-

काठमाडौँ। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको एक साता पुग्न लागेको छ ।

बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुमवासी बस्ती हटाइएपछि यहाँ आश्रय लिइरहेका ८९ परिवारका १९२ जनाको दैनिकी विस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ ।

विसं २०४४ देखि बल्खुको सुकुमवासी बस्तीमा छिमेकी भएर बस्नुभएका ८४ वर्षीय मानबहादुर राई र ७२ वर्षीय गोपाल तामाङ अहिले आफूहरू एक परिवार भई बसेको अनुभूति भइरहेको बताउनुहुन्छ । राई श्रीमतीसहित सेन्टरमा बस्दै आउनुभएको छ भने तामाङ एक्लै हुनुहुन्छ ।

होल्डिङ सेन्टरमा बिहानको चिया नास्तापछि सेन्टरको परिसरको चौरमा हिँडडुल, क्यान्टिनमा नास्ता र दिनभरका गफले उहाँहरूको दैनिकी जोडिएको छ । सेन्टरमा अस्थायी बासका लागि राम्रो व्यवस्था भए पनि आफूहरू सुरक्षित र सम्मानजनक पुनस्र्थापनाको पर्खाइमा भएको बताउनुहुन्छ ।

“बिहान ५ः०० बजे उठ्छौँ, यसो हिँड्छौँ, चिया खान्छौँ । धन्यावाद छ सरकारलाई, अहिलेको अस्थायी व्यवस्था ठिक छ”, राई भन्नुहुन्छ, “तर सरकारले स्थायी व्यवस्थातर्फ पनि चाँडै काम गरिदिए राम्रो हुन्थ्यो ।”

तामाङको अपेक्षा पनि उस्तै छ, “खाना र बस्न अहिले सुविधा छ । अब स्थायी बासस्थानको व्यवस्था छिटो भए हुन्छ भन्ने आशामा छौँ ।”

यता, सेन्टरको खुला प्राङ्गणमा खेलिरहेका छन् २८ वर्षीया खुस्बु खातुनका चार सन्तान । आफ्ना चार बालबच्चाजस्तै खातुन पनि सामूहिक बसाइले अपरिचितहरूबीच पनि आत्मीयता बढाएको बताउनुहुन्छ । “धेरै जना भएर रमाइलो लाग्छ । खानपान र बसोबास ठिक छ । साथीहरूसँग गफ गरेर दिन बित्छ”, खातुनले भन्नुभयो ।

तर उहाँको चिन्ता बालबालिकाको भविष्य र पुनस्र्थापना छ । “बच्चाको पढाइ नरोकिने व्यवस्था सरकारले मिलाइदियो भने राम्रो हुन्छ”, उहाँले भन्नुभयो । सोही सेन्टरमा बस्दै आउनुभएका ५६ वर्षीय प्रेमबहादुर हुमागाईँ पेसाले सवारी चालक हुनुहुन्छ । दुर्घटनापछि काम गर्न नसकिरहेको अवस्थामा उहाँ यहाँ आउनुभएको हो । उहाँले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको वास्तविक विवरण सङ्कलनलगत्तै व्यवस्थापन गर्न माग गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “बस्ती हटाएपछि सरकारले खाना र बस्ने व्यवस्था गरेकामा धन्यवाद”, उहाँ भन्नुहुन्छ, “तर वास्तविक सुकुमवासीको पहिचान गरेर उनीहरूलाई रोजगारी र स्थायी व्यवस्थातर्फ लैजानुपर्छ । यहाँ बस्दा आफ्नै काम छोड्नुपरेको छ ।”

होल्डिङ सेन्टरमा बसोबासको व्यवस्थापनलाई लिएर सांसदहरूले पनि स्थलगत अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहजीकरणमा पुगेका सांसदहरूले आश्रय लिइरहेकासँग कुराकानी गर्दै उहाँहरूको आवश्यकता र अवस्थाबारे जानकारी लिनुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले खरिपाटीको व्यवस्थापन अपेक्षाभन्दा राम्रो पाएको प्रतिक्रिया दिनुभयो । “ट्वाइलेट, खुला ठाउँ, सरसफाइ, स्वास्थ्य सेवा, एम्बुलेन्स सबै व्यवस्थित देखियो”, उहाँले भन्नुभयो, “बालबालिकाको शिक्षामा थप समन्वय आवश्यकता रहेछ ।”

सांसद यज्ञमणि न्यौपानेले भक्तपुरको व्यवस्थापन तुलनात्मक रूपमा व्यवस्थित देखिएको बताउनुभयो । “बसोबास सहज देखिन्छ । अब राज्यले पुनर्बास, शिक्षा, स्वास्थ्य र रोजगारीतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । सांसद मनमाया विश्वकर्माले पनि खानेबस्ने व्यवस्थामा गुनासो नदेखिएको उल्लेख गर्दै विशेषगरी गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाको आवश्यकतामा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

होल्डिङ सेन्टर व्यवस्थापनमा सहरी विकास मन्त्रालयले मुख्य व्यवस्थापनको काम गरिरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयले आवश्यक सामग्री उपलब्ध गराइरहेको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समन्वय गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालकाअनुसार सेन्टरमा मानसिक स्वास्थ्य परामर्शसँगै स्वास्थ्योपचार र औषधि उपलब्ध गराइएको जानकारी दिनुभयो ।

सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक समस्याको पहिचान र न्यायोचित व्यवस्थापनका लागि जनप्रतिनिधिहरूलाई पनि अवलोकनका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । “यस संवेदनशील विषयमा वस्तुस्थिति बुझ्न र जनप्रतिनिधिको अनुभव समेट्न सांसदहरूको सहभागिता गराइएको हो”, उहाँले भन्नुभयो ।

सेन्टरका प्रशासन प्रमुख भरत केसीका अनुसार अहिले ३० जना बालबालिकाका लागि ‘मल्टिग्रेड टिचिङ’ सुरु गरिएको छ । “आइतबारदेखि नजिकैका विद्यालयमा भर्ना गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।

जागृति माविका शिक्षक रमेश मैनालीका अनुसार सामाजिक सञ्जालमा बालबालिकाको अवस्था देखेपछि शिक्षकहरू स्वयं सहकार्यका लागि विद्यालय तयार रहेको बताउनुभयो । “हाम्रो विद्यालयमा थप ४० जना विद्यार्थी पढाउने क्षमता छ । स्कुल बसको व्यवस्थासहित यहाँका बालबालिकालाई पढाउन तयार छौँ”, उहाँले भन्नुभयो ।

अस्थायी होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारका बालबालिकाको शिक्षा प्रभावित हुन नदिनका लागि पायक पर्ने विद्यालयमा पढाउने व्यवस्था मिलाउने तयारी तत्कालै थाल्ने सेन्टरका प्रशासन प्रमुख केसीले बताउनुभयो । रासस