१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चरणमा जोखिमपूर्ण बस्ती खाली गर्ने काम सम्पन्न



अ+ अ-

काठमाडौँ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम सम्पन्न भएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका, उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त समन्वयमा यही वैशाख १२ गतेदेखि यो अभियान सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार पहिलो चरणको यस अभियानअन्तर्गत विभिन्न क्षेत्रबाट कूल दुई हजार ६८७ वटा अवैध घरटहरा हटाउने कार्य सम्पन्न भएको छ ।

अभियानक  क्रममा वैशाख १२ गते थापाथली र गैरीगाउँबाट सुरु गरी १३ गते मनोहरा क्षेत्र र १७ गते कालोपुलका अतिक्रमण संरचना हटाइएको थियो । वैशाख १८ गते बल्खु, बंसिघाट, शङ्खमूल र कालीमाटी क्षेत्र खाली गरियो भने १९ गते बालाजु, स्वयम्भू, गौशाला र धोबी खोला क्षेत्रमा सक्रियता देखाइएको थियो ।

वैशाख २० गते पुनःबालाजु, गौशाला र धोबी खोलासहित जेञ्जिङचोक, कृष्ण मन्दिर र कपन क्षेत्रका संरचना हटाइएको थियो । अभियानको अन्तिम कडीका रूपमा वैशाख २१ गते साततले क्षेत्रमा रहेका अतिक्रमण संरचना र जग्गा खाली गराइएको छ ।

विस्थापितको व्यवस्थापन र आगामी योजना

सरकारले यस प्रक्रियामा मानवीय पक्षलाई विशेष ध्यान दिँदै विस्थापित परिवारका लागि ‘होल्डिङ सेन्टर’ मार्फत अस्थायी बसोबासको व्यवस्थापन गरिरहेको छ । सहरी विकास मन्त्रालयका अनुसार इचङ्गुनारायणलगायत स्थानमा अस्थायी आवासको तयारी भइरहेको छ । व्यवस्थापनका क्रममा बालबालिकाको अध्ययन र अभिभावकको रोजगारीमा प्रतिकूल असर नपरोस् भन्ने विषयमा सरकार सचेत रहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको यो ‘अपरेसन’ सम्पन्न भएसँगै सरकारले अबको रणनीति तय गरेको छ । अब वास्तविक सुकुमवासीको वैज्ञानिक पहिचान र उनीहरूको मर्यादित व्यवस्थापन सुनिश्चित गरेपछि मात्र उपत्यकासहित देशभरका अन्य सार्वजनिक तथा सरकारी जग्गा खाली गरिने प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वास्तविक भूमिहीन र सुकुमवासीलाई सुरक्षित आवास सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको मूल लक्ष्य छ । यसबारे सरकारसँग स्पष्ट योजना छ ।” रासस