१७ भाद्र २०८३, बुधबार
,
Latest
घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो



अ+ अ-

बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ ।

१५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ ।

नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्र्किएका छन् ।

आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छवटा सिकार ब्लकमा राखेर फर्केको बताउनुभयो । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ । क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ । ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ ।

“हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ”, सुवेदीले भन्नुभयो, “सम्भावित चितुवाको बासस्थान, ओडार, जङ्गललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ ।”

हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए । ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ ।

आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ ।

यस्तै हिउँचितुवाको जङ्गलमा भेटिएको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको सङ्ख्या गणना गर्न सकिन्छ । रासस