११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’

पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’
अ अ+ अ-

झापा। मानव-हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको  छ ।

चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो ।

मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगरमा हरियालीका लागि जङ्गल हुर्काइएको छ । हात्तीको सुँढबाट बगेको पानीको २२ वटा झरना पार्कको मुख्य आकर्षण हो ।

भारतबाट सीमा छिचोलेर जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गौँडामा रहेको यो पार्क हात्ती अवलोकन गर्ने स्थानका रूपमा परिचित रहेको स्थानीय बताउँछन् । पार्क रहेको स्थानबाट दुई किलोमिटर पश्चिममा मेचीपारि भारतको लोहागढ जङ्गल पर्दछ । सोही जङ्गलबाट प्रत्येक साँझ ६० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान मेचीको लामो बगर छिचोल्दै यही पार्क छेउ भएर नेपाल प्रवेश गर्छन् ।

पार्कमा रोपिएका फूल फूल्ने एक सय प्रजातिका विरुवाले सौन्दर्य थपेको छ भने हात्तीले खान रुचाउने ‘इलिफेन्ट फ्रुट’ नामक बिरुवा पनि प्रकृति पार्कमा हुर्काइएको छ । भारतबाट आहारको खोजीमा बगरैबगर बाहुनगाँडीतिर आउने गरेका हात्तीका बथान खोला किनारमा अल्मलिउन् भनेर पार्कमा ‘इलिफेन्ट फ्रुट’ सहित हात्तीमैत्री बिरुवा रोपिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार सो स्थानमा अम्बकसहित फलफूलका बिरुवासमेत हुर्काइएका छन् ।

चराचुरुङ्गीको बासस्थान र संरक्षणका लागि फलफूलका बिरुवा पार्कमा लगाइएका वडाध्यक्ष कार्कीले उल्लेख गर्नुभयो । बाहुनडाँगी क्षेत्रमा बगर बट्टाई, कोइली, स्वर्गचरी, राजधनेषलगायत दुर्लभ चराको बासस्थान भएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकृति पार्कमा पुगेपछि पर्यटकले रमाइलो मात्र होइन, मानव-हात्ती द्वन्द्वका विषयमा समेत स्थलगत अध्ययनको अवसर पाउनेछन् ।

भारतको आसामबाट पश्चिम बङ्गालको सुकुना जङ्गल हुँदै कोशी नदी किनारको कोशी टप्पु वन्यजन्तु आरक्षसम्म विचरण गर्ने एसियाली हात्ती नेपालको बाहुनडाँगीमा प्रवेश गर्ने मुख्य गौँडा पार्कमा आउने भएकाले पर्यटकले अवलोकन गर्न पाउने वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताउनुभयो ।

हरियाली र शितल हावा बहने स्थान भएकाले पार्कमा गर्मीयाममा घुम्न आउने पर्यटकको सङ्ख्या बढी हुने उहाँको भनाइ छ । मेची नदीको फराकिलो बगर र पहाडको फेदीको दृश्यावलोकनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

“यहाँको पार्क घुम्न र हात्तीका बारेमा विस्तृतमा बुझ्न नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतबाट समेत पर्यटकहरू आउन थालेका छन्”, उहाँले भन्नुभयो, “बाहुनडाँगी भन्ने बित्तिकै हात्तीको समस्या भएको ठाउँ हो भन्ने भाष्य बनिसकेको छ । हामी यस क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भनेर लागिरहेका छौँ । अहिले प्रकृति पार्क पर्यटनका लागि नयाँ गन्तव्य र आकर्षण केन्दै बन्दै गएको छ ।”

पार्कभित्र रहेका साना जलाशय, वनस्पति र शान्त वातावरणले गर्दा वनभोज मनाउन जाने र प्रकृतिमा रमाउन चाहनेहरूका लागि यो पार्क उपयुक्त गन्तव्य बनेको स्थानीय समिर राईले बताउनुभयो । गत वर्षको मेचीको बाढीले पार्कभित्र निर्माण गरिएको जलाशय पुरेको छ भने पार्कभित्रका विभिन्न संरचना बगाएर रु १३ लाखभन्दा बढी क्षति पु¥याएको उहाँले जानकारी दिनुभयो ।

“सुरुसुरुमा मेचीको बगरमा पार्क बनाउँदा के चल्छ होला जस्तो लाग्थ्यो”, राईले भन्नुभयो, “अहिले हामीले पनि पाहुना र साथीभाइलाई यही पार्कमा घुमाउन ल्याउने गरेका छौँ । केही दिनअघि भारतको कोलकाताबाट बङ्गालीभाषी पर्यटकको समूह पार्कमा घुम्न आएको थियो ।”

स्वच्छ पिउने पानी, नुहाउने झरना र बस्ने टहराको व्यवस्था भएकाले यहाँ बालबालिका लिएर अभिभावक पनि आउने गरेका छन् भने वनभोज खान र फोटो खिच्नका लागि युवायुवती आउने गरेका स्थानीय बताउँछन् । मुख्य बस्तीभन्दा टाढा मेचीको बगरमा रहेको यो पार्कमा साँझ र बिहानीपख घुमफिर गर्नका लागि भने सुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ ।

भारतबाट साँझ पर्ने बित्तिकै जङ्गली हात्ती नेपालतिर यही गौँडाबाट प्रवेश गर्ने र बिहानीपख भारततिर फर्किने भएकाले उक्त समयमा पार्कमा बस्नु असुरक्षित हुने स्थानीयले जनाएका छन् । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र हात्तीको आवतजावतलाई व्यवस्थित गरेर पर्यटकलाई सुरक्षित रूपमा प्रकृति अवलोकन गर्ने वातावरण बनाउन प्रयास गरिनुपर्ने यहाँ आउने पर्यटकले जोड दिएका छन् ।

“मेचीको बगरमा ६० देखि १०० वटाको सङ्ख्यामा आउने हात्तीको बथान हेर्ने र फोटो खिच्ने इच्छा थियो”, विर्तामोडबाट प्रकृति पार्कमा घुम्न आउनुभएका वैभव न्यौपानेले भन्नुभयो, “बजार र बस्तीबाट टाढा भएकाले पार्कमा हात्ती आउला भन्ने डरले बेलुकासम्म बस्ने आँटै आएन ।”

पार्कमा पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय बाहुनडाँगी बजारमा घरबास र साना होटलमा ग्राहक थपिन थालेका छन् । बाढीले भत्काएको पूर्वाधारलाई पुनःनिर्माण गर्ने र भविष्यमा बाढीले क्षति नगरोस् भनेर पार्कलाई जोगाउन राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत पूर्वी तटमा बलियो बाँध बाँध्ने कार्य सुरु गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

भारतसँगको खुला सिमाना र जंगली हात्तीको नियमित प्रवेशका कारण सुरक्षा चुनौती रहे पनि सौर्य तारबारको प्रभावकारी प्रयोग गर्दै सरकारसँगको सहकार्यमा बाहुनडाँगीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडा कार्यालयले पहल गरिरहेको उहाँले बताउनुभयो । रासस