काठमाडौँ । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा डा मनोज कुमार शर्मालाई सिफारिस गरेपछि सर्वोच्च अदालतमा विगतका बर्षहरु देखि जारी रही आएको क्रम भंगता भत्किएको छ ।
शर्मा न्यायपरिषदको सिफारिसमा चौथो नम्बरमा थिए । पहिलो नम्बरको सिफारिसमा थिइन् सपना प्रधान मल्ल । यस अघिका नियुक्तिहरुमा प्रायः सधैँजसो संवैधानिक परिषदले पहिलो नम्बरकै सिफारिस गर्ने गर्दथ्यो, तर अहिले भने यसमा क्रमभंग भएको छ ।
अहिले एक नम्बर सिफारिसमा र हाल कामु प्रधानन्यायाधीशको भूमिकामै थिइन् सपना मल्ल । तर आज परिषदले उनलाई नगरेर सिफारिसको चौथो नम्बरमा रहेका शर्मालाई नियुक्तिको सिफारिस गरेबाट विगत लामो समयदेखिको यो रोलक्रमको क्रमभंगता भएको हो ।
प्रधानमन्त्रीले हिजो नै आज साँझ ५ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए । सोही समयमा एजेण्डा नै प्रधानन्यायाधीशको सिफारिस राखिएको बताइएको थियो ।
त्यसयता सामाजिक सञ्जाल तथा विभिन्न मिडियामा प्रधानन्यायधीशमा को सिफारिस होलान् भन्ने अनुमान सहितका पोष्टहरु देखिएको थिए । यो चासो आज बिहान देखि थप बढेको थियो र दिनभरजसो सामाजिक सञ्जालमा प्रधानन्यायाधीशमा को सिफारिस होलान् भन्ने मात्र मानिसहरुले लेखिरहेका थिए ।
तर अघि साँझ बैठक बसेपछि बिना कुनै बिलम्ब डा शर्मा सिफारिशमा परे । प्रधानमन्त्रीको यो प्रस्तावको परिषद सदस्य राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र संसदमा प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले भने विरोध गरेका थिए ।
उनीहरुले लिखित रुपमा नै प्रधानमन्त्रीको सो निर्णयप्रति असहमति जनाएका थिए । उनीहरुले सर्वाेच्च अदालत जस्तो संस्थामा रोलक्रम मिच्न नहुने र सपनालाई नै सिफारिस गरिनुपर्ने बताएका थिए ।
अब डा शर्माको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेेछ । त्यसपछि उनलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ । सम्भवत भोलि नै बस्न लागेको संसदको सुनुवाई समितिले उनको सुनुवाईको सूचना प्रकाशन गर्नेछ ।











