काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्र बनाएको छ । शुक्रबार दिउँसो ३ बजेसम्म नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट ४० जना विदेशी नागरिकसहित ७०६ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएका विदेशी नागरिकमा २९ जना भारतीय, चार जना जर्मन, चार जना चिनियाँ, दुई जना कोरियन र एक जना ओमानी नागरिक रहेका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको करिब ४ हजारभन्दा बढी फौज परिचालन गरिएको छ । उनीहरूले प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
सेनाले टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा हेलिकप्टरबाट उद्धारसँगै स्थलमार्गबाट समेत खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ । यसअघि पनि सेनाका हेलिकप्टरले टिमुरे क्षेत्रलगायतबाट ठूलो संख्यामा नागरिकको उद्धार गरेका थिए ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउने र तत्काल आवश्यक खाद्यान्न तथा राहत सामग्री वितरण गर्ने कार्य पनि सँगसँगै भइरहेको छ ।









