११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै

सुदूरपश्चिमका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
अ अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ ।

सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले बताउनुभयो ।

“सेवा विस्तार गरिने सर्पदंश उपचार केन्द्रमा उपचार सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण भेगका नागरिकलाई समयमै उपचार सुनिश्चित गर्न चिकित्सक तथा आकस्मिक विभागमा कार्यरत स्वास्थ्यकर्मीका लागि दुईदिने विशेष तालिम सञ्चालन गरी सर्पदंश उपचारमा दक्ष बनाइएको छ ।”

उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्पदंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार विगतमा डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटीमा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ ।

सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका प्रशंसनीय छ । नेपाली सेनाले विभिन्न स्थानमा आफ्नै उपचार केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ । सुदूरपश्चिमकै कैलालीको बडैपुर र कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा रहेका उपचार केन्द्रबाट नागरिकले प्रभावकारी सेवा पाइरहेका छन् । सेना र सरकारी अस्पतालबीचको समन्वयले सर्पदंश व्यवस्थापन थप सुदृढ भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा विगत पाँच वर्षदेखि सर्पदंशका कारण हुने मृत्युदर शून्य रहेको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताउनुभयो । उहाँका अनुसार पछिल्लो छ महिनामा मात्रै ३२ जना विषालु सर्पले टोकेका बिरामी उपचारका लागि आएकामा सबैको सफलतापूर्वक उपचार गरिएको छ । विशेषज्ञ चिकित्सक तथा तालिमप्राप्त स्वास्थ्यकर्मीको सक्रियताका कारण जटिल अवस्थाका बिरामीको पनि ज्यान जोगाउन सम्भव भएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार सर्पदंशका बिरामीलाई भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्नु, जनचेतनाको कमी, झारफुक गर्ने, वैद्यकहाँ जाने वा घरेलु उपचारमा अल्झिने प्रवृत्तिका कारण बिरामीको मृत्यु हुने गर्दछ । “यसले गर्दा विष शरीरमा फैलिन पाउँछ र अस्पताल पुग्दा निकै ढिलो भइसकेको हुन्छ”, उहाँले भन्नुभयो, “ढिला गरी अस्पताल ल्याइने बिरामीको ज्यान जोगाउन चिकित्सकलाई पनि निकै कठिन हुने गर्दछ ।”

सर्पदंशका बिरामीलाई एम्बुलेन्समा ल्याउँदा कहिलेकाहीँ बाटोको अवस्था र ढिलाइका कारण जोखिम बढ्न सक्ने उहाँले उल्लेख गर्नुभयो । ग्रामीण भेगमा मोटरसाइकलमार्फत तत्काल अस्पताल ल्याउँदा जोखिम कम हुने र यो विधि बढी प्रभावकारी हुने उहाँको सुझाव छ । मोटरसाइकलले छिटो र सहज रूपमा बिरामीलाई उपचार केन्द्रसम्म पुर्याउन मद्दत गर्ने भएकाले यसलाई वैकल्पिक उपायका रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले जथाभावी सर्प मार्दा पारिस्थितिक प्रणाली (इकोसिस्टम)मा नकारात्मक असर पर्ने बताउनुभयो । सर्पले प्राकृतिक चक्र सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले शत्रुका रूपमा हेर्नुभन्दा पनि टोकाइबाट बच्ने उपाय अपनाउनु र सुरक्षित दूरी कायम गर्नु बुद्धिमानी हुने उहाँको भनाइ छ ।

सरकारले लिएको सन् २०३० को लक्ष्य हासिल गर्न स्थानीय तहमा स्वास्थ्य पूर्वाधारको विकास, ‘एन्टिस्नेक भेनम’को सहज उपलब्धता तथा स्वास्थ्यकर्मीको निरन्तर तालिम अपरिहार्य रहेको स्वास्थ्यकर्मी बताउँछन् । रासस