६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपल्लो मुस्ताङमा नयाँ पुस्तालाई ‘स्याब्रो र टुङ्ना’ प्रशिक्षण



अ+ अ-

काठमाडौं । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।

‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो ।

गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रमको समन्वय लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गरेको थियो । स्थानीय लोपोन्मुख अवस्थामा रहेको स्थानीय सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजालाई संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर पुस्ता ज्ञान सीप र अनुभव हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिए ।

उक्त कार्यक्रममा चराङ मानेपेमे आमा समूहका ज्येष्ठ नागरिकले चराङ गुम्बा विद्यालय र आनी गुम्बा विद्यालयका विद्यार्थीलाई परम्परागत नाच स्याब्रो नाच्ने कलाको प्रशिक्षण गराइएको छ । त्यसैगरी परम्परागत टुङ्ना बाजाको प्रशिक्षण स्थानीय ज्येष्ठ नागरिक टैआङ्गे गुरुङले गरेका थिए।

सदियाैँ वर्षदेखि सांस्कृतिक धरोहरका रूपमा रहेको स्याब्रो नाच र परम्परागत बाजा टुङ्ना उपल्लो मुस्ताङको मौलिक संस्कृति रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे । माथिल्लो मुस्ताङको महत्त्वपूर्ण चाडपर्वमा यसप्रकारको स्याब्रो नाच देखाइने गरिएको उनको भनाइ छ ।

“स्याब्रो र टुङ्ना बाजा चाडपर्वमा देखाइने गरिन्छ, यसप्रकारको परम्पराले यहाँको मौलिक कला, संस्कृतिलाई जीवन्त राखेको छ”, अध्यक्ष विष्टले भने, “पछिल्लो समय नयाँ पुस्ता विदेश पलायन हुने र गाउँघरमा भएका युवाले पनि आधुनिकतालाई पछ्याउँदै संस्कृति जोगाउन मुस्किल परेको छ ।”

उपल्लो मुस्ताङमा बर्सेनि मनाइने यार्तुङ पर्व, तिजी पर्व र धज्याङ पर्वलगायत सांस्कृतिक चाडपर्वमा स्याब्रो नाच र टुङ्ना बाजा बजाउने प्रचलन छ ।