५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी महारथी रियल र बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिए



अ+ अ-

युरोपेली प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगबाट स्पेनी महारथी क्लबहरु रियल म्याड्रिड र बार्सिलोना दुबै क्वार्टरफाइनल बाटै बाहिरिएका छन् ।

पहिलो लेगमा पनि दबाबमा परेका यी दुबै टिम दोस्रो लेगका खेलमा पनि दर्शक र खेलप्रेमीलाई निराश तुल्याउँदै कमजोर प्रदर्शन गरेर बिदा भए ।

आज राति रियल म्याड्रिडलाई जर्मन लिग बुन्डेसलिगाको शीर्ष स्थानको बायर्न म्युनिखले हरायो ।

बायर्नको गृह मैदान एलिआन्ज एरेनामा भएको दोस्रो लेगको खेलमा रियलमाथि बायर्नले ४-३ गोलले पराजित गरेको हो । यो जितसँगै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बायर्नले खेलमा झण्डै ६७ प्रतिशत समय बल आफ्नो पक्षमा राखेर रियलमाथि निरन्तर दबाब बनाएको थियो । तर पहिलो गोल भने रियलका लागि आर्डा गुलरले पहिलो मिनेटमै गरेका थिए ।

तर बायर्न निकै उत्कृष्ट फर्म र लयमा थियो । उसका लागि छैटौं मिनेटमा अलेक्जान्डर पाभ्लोभिकले बराबरी गोल फर्काए । फेरि रियलले २९ औं मिनेटमा गोल गरेर टिमलाई २-१ मा ल्यायो । दोस्रो गोल पनि आर्डा गुलरले नै गरे । रियलका लागि तेस्रो गोल केलिएन एम्बापेले ४२औं मिनेटमा गरेका थिए ।

बायर्न भने यतिमै रोकिएन । बायर्नका लागि ३८औं मिनेटमा ह्यारी केनले गोल गरेका थिए भने खेलको अन्त्यतिर ८९औं मिनेटमा डियाज र ९४औं मिनेटमा मिसेल ओलिसेले गोल गरेर सेमिफाइनलको यात्रा पक्का गरे ।

बार्सिलोना पनि एट्लेटिकसँग स्तब्ध

बार्सिलोना क्लब भने अर्को स्पेनी क्लब एट्लेटिको म्याड्रिडसँग समग्रमा ३-२ गोल अन्तरले हार व्यहोर्न बाध्य भयो । यद्यपी दोस्रो लेगको खेलमा बार्सिलोना २-१ गोल अन्तरले विजयी भए पनि पहिलो लेगको खेलमा २-० गोल अन्तरले व्यहोरेको हारका कारण क्वार्टरफाइनलबाटै बिदा हुन बाध्य भयो ।

एट्लेटिकोको गृह मैदानमा बार्सिलोनाले खेलको सुरुआतमा निकै सुन्दर खेल कौशल देखाएको थियो । खेलको ४ र २४ मिनेटमा दुई गोल गरेर बार्सिलोना खेलमा फर्कने सुरसारमा थियो ।

तर एट्लेटिकोका लागि ३१औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले डिबक्सभित्र दिएको क्रस पासमा एडेमोला लूकम्यानले सुन्दर गोल गर्दै खेललाई २-१ मा ल्याए । तर त्यसपछि कुनै गोल हुन सकेन । पहिलो लेगमा गरेको २ गोलका कारण एट्लेटिकोले समग्रमा ३-२ गोल अन्तरले खेल जितेर सेमिफाइनलमा स्थान बनायो ।

बार्सिलोना विगत ११ वर्षमा च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन, र यसपटक पनि लामिन यामाल, लेवान्डोस्की जस्ता निकै प्रतिभावान खेलाडी भएर पनि टिम निराश बनेको छ । यद्यपि बार्सिलोनाले यस सिजनको स्पेनी ला लिगा जित्ने लगभग पक्का भइसकेको छ ।

आर्सनल र पिएसजी सेमिफाइनलमा प्रवेश

च्याम्पियन्स लिगमा यस पटक इङलिस क्लब आर्सनल र फ्रेन्च क्लब पिएसजी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आर्सनल र स्पोर्टिङ बिचको दोस्रो खेल गोलरहित बराबरीमा टुङिगए पनि समग्रमा १-० गोल अन्तरले जितेर आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिफेन्डिङ च्याम्पियन पिएसजीको खेल यस सिजन पनि उत्कृष्ट देखिएको छ । पिएसजीले लिभरपुललाई समग्रमा ४-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ । पिएसजीले लिभरपुललाई पहिलो लेगमा २-० र दोस्रो लेगमा पनि २-० गोल अन्तरले हराएको थियो ।

सेमिफाइनलमा चार टिमको समीकरण

च्याम्पियन्स लिगमा अब चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । पछिल्लो खेल स्थिति अनुसार जर्मन क्लब बायर्न म्युनिख, स्पेनी क्लब एट्लेटिको म्याड्रिड, इङलिस क्लब आर्सनल र फ्रेन्च क्लब पिएसजी सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा आर्सनलले एट्लेटिको र बायर्नले पिएसजीसँग खेल्ने छन् । यी खेलहरु दुई लेगमा हुनेछन् ।

फाइनल खेल भने हङगेरिको बुडापेस्टस्थित पुस्कास एरेनामा मे ३०, २०२६ मा हुनेछ ।