५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै



अ+ अ-

काठमाडाैँ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहने छ । हिउँ चितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामेरा जडान गरिने छ । “पहिलोपटक हिउँ चितुवाको अवस्था पत्ता लगाउन लागेका छौँ, करिब १० जना गणकहरु ४५ दिनसम्म क्यामेरा राख्दै, प्रत्यक्ष फोटो तथा भिडियो खिच्दै र चितुवाको पाइला तथा दिसा सङ्कलन गरी गणनाको प्रतिवेदन तयार पारिने छ”, सुवेदीले भने, “क्यामेराले कैद गरेका तस्बिर र अन्य स्थलगत प्रमाणहरुका आधारमा हिउँ चितुवाको सङ्ख्या पत्ता लाग्छ । आगामी वर्ष भने यहाँका नाउर र झारल गणना गरिने छ ।”

यस आरक्षको चार हजार मिटरदेखि सात हजार मिटरभन्दा माथिसम्म हिउँ चितुवाको बासस्थान रहेको छ । एक हजार ३२५ वर्ग किमी क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहेपनि म्याग्दी र रुकुम सम्म फैलिएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँ चितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ ।

रेन्जर सुवेदीका अनुसार हिउँ चितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । हिउँ चितुवाको दिसा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिने र पदचाप तथा सङ्केत सर्वेक्षण पाइलाका आधारमा समेत गणना गरिने जनाइएको छ । यस आरक्षमा २०७९ सालको गणनाअनुसार एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए ।