१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिफलिसका १९० नयाँ बिरामी भेटिए



अ+ अ-

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)  का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् ।

अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँका अनुसार फेला परेका बिरामीमध्ये केहीलाई तत्काल उपचार आवश्यक रहेको बताउनुभयो । केही बिरामीले यसअघि उपचार गराइसकेका छन् । बिरामी मुख्यतः २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।

“सिफलिसका बिरामी दैनिक रुपमा बढ्दै गएको पाइएको छ,” डा चापागाइँले भन्नुभयो । उहाँका अनुसार जन्मजात सङ्क्रमण भएका शिशुदेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत सिफलिस सङ्क्रमण पुष्टि भएको पाइएको छ । केही अवस्थामा आमाबाट बच्चामा सङ्क्रमण सरेको समेत भेटिएको छ ।

भेरी अस्पतालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छाला तथा यौन रोग विभागअन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको थियो ।  ‘भेनस कर्नर’ मा सिफलिससम्बन्धी परामर्श, परीक्षण तथा उपचार सेवा सुरक्षित, गोप्य र व्यवस्थित रूपमा निःशुल्क उपलब्ध गराइएको छ ।

डा चापागाइँले सिफलिस सामाजिक व्यवहार, वैदेशिक रोजगारी, औषधिको अनियन्त्रित प्रयोग तथा नीतिगत कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गर्नुभयो । अस्पतालमा गरिएको सो अनुसन्धानले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीमा रहेको भ्रम तथा बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार यौनाङ्गमा घाउ भएका १० भन्दा बढी बिरामी ‘रेकर्ड’मा समावेश छन् भने करिब ३० प्रतिशत बिरामी पुरानो सङ्क्रमण निको भए–नभएको जाँच गर्न अस्पताल पुगेका हुन् ।

भेरी अस्पतालमा सन् २०२६ जनवरीदेखि सुरु भएको सिफलिससम्बन्धी अनुसन्धान यस वर्षको डिसेम्बर अन्तिमसम्म जारी रहने अस्पतालले जनाएको छ ।  रासस