३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेटिङ एप’ र ‘वेबसाइट’ बन्द



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ ।

मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गरिएको हो ।

सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु गरेको थियो । मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा बेटिङ एप र वेबसाइट बन्द गरिएको हो ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरी तत्कालै ‘एक्सन’ लिनुभएको थियो ।

मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं ४२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही बमोजिम मन्त्रालयले आजको मन्त्रिस्तरको निर्णयअनुसार प्राधिकरणलाई इन्टरनेटसेवा प्रदायकसँगको समन्वयमा कुनै पनि विद्युतीय माध्यमबाट हुने सट्टेबाजीलगायतका एप तथा वेबसाइट तत्काल बन्द गर्न निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम सबै सट्टेबाजी एप र साइट बन्द गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कानुनी व्यवस्थाका विपरीत हुनेगरी नेपालभर सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न÷नगराउन मन्त्रालयले अनुरोध गरेको छ । साथै, कसैले अनधिकृत रुपमा सट्टेबासी एप र वेबसाइट प्रयोग गरेमा वा सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम साधिकार निकायबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।

यस सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) बमोजिम कसैले सट्टाबाजी गर्नु वा गराउनु हँुदैन भन्ने प्रावधान रहेको र सो उलङ्घन गरेमा सोही दफाको उपदफा (६) बमोजिम कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ को दफा ५ को उपदफा १ को (ख) मा समेत जुवा खेल्न खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिट्ठा किन्न तथा किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था रहेको र सो विपरीत कसैले कसुर गरेमा कसुर गर्ने र गराउनेलाई त्यसबापत प्रचलित कानुनले कुनै सजाय हुने रहेछ भने सो बमोजिम सजाय गर्ने र सो नभएमा एक वर्षसम्म कैद र रु १० हजार जरिमाना हुने व्यवस्था रहेको छ ।

उल्लिखित कानुनी व्यवस्था विपरीत सट्टेबाजी एप र वेबसाइट सञ्चालन वा प्रयोग गरेको थाहा पाएमा प्राधिकरणको सम्पर्क व्यक्तिलाई फोन नं वा इमेलमामार्फत जानकारी गराई दिन अनुरोध गरिएको छ ।  रासस