१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरु गर्दैछः डा दाहाल



अ+ अ-

काठमाडौँ। सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरु भइसकेको जानकारहरू बताउँछन् ।

एआईको विस्तारसँगै यसको उपयोग र प्रभावबारे चासो बढिरहेका बेला सूचना प्रविधि र एआईको क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा काम गर्दै आउनुभएका वैज्ञानिक डा परशुराम दाहालले एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरुआत गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक शृङ्खला ‘रासस संवाद’मा उहाँले एआईलाई मानिसजस्तै सोच्न, सिक्न र निर्णय गर्न सक्ने कम्प्युटर प्रणालीका रूपमा व्याख्या गर्दै यसले स्वास्थ्य, शिक्षा, कृषि र व्यवसायलगायत दैनिक जीवन सहज बनाइरहेको उल्लेख गर्नुभयो ।

दाहालका अनुसार विश्वमा एआईको विकास स्वचालन, डेटा विश्लेषण र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने दिशातर्फ उन्मुख छ । दीर्घकालमा यसले उत्पादन बढाउनुका साथै नयाँ अवसर सिर्जना गर्ने डा दाहालको विश्वास छ । “एआईले केही परम्परागत रोजगारी घटाउन सक्छ, तर नयाँ सीप र प्रविधिमा आधारित अवसरहरू पनि उत्तिकै सिर्जना हुन्छन्”, उहाँले भन्नुभयो,“भविष्यमा एआई अत्यन्त उपयोगी हुनसक्ने अवस्था बन्दैछ । उत्पादन, कृषिको आधुनिकीकरण, स्वास्थ्य सेवा सुधार, विपद् व्यवस्थापन, शिक्षालगायतको क्षेत्रमा यसको प्रयोगको सम्भावना धेरै छ ।”

डा दाहालले एआईका लागि डेटा सबैभन्दा आधारभूत स्रोत भएको बताउनुभयो । उहाँले नेपालमा गुणस्तरीय, विश्वसनीय र व्यवस्थित डेटाको अभाव ठूलो चुनौतीका रूपमा रहेको औँल्याउनुभयो । डेटा सङ्कलन, सुरक्षित भण्डारण र प्रभावकारी प्रयोगका लागि आवश्यक नीति, प्रविधि र संस्थागत संरचना विकास नभए एआईको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसक्ने उहाँको भनाइ छ ।

“व्यवस्थित डेटाको उपलब्धता, पूर्वाधारको कमी, दक्ष जनशक्तिको अभाव र स्पष्ट नीतिगत ढाँचाको अभाव एआईको लागि हालको मुख्य चुनौती हो”, डा दाहालले भन्नुभयो ।

सरकारले सूचना प्रविधि र एआईको विकासमा दीर्घकालीन रणनीति, लगानी वृद्धि, अनुसन्धान प्रवर्द्धन तथा डेटा सुरक्षासम्बन्धी स्पष्ट नीति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, एआईको प्रयोगसँगै व्यक्तिको डेटा गोपनीयता, गलत सूचना र नैतिकताका विषयमा सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विदेशमा बसेर अध्ययन र अनुसन्धानका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको वैज्ञानिक दाहालले युवापुस्तालाई लक्षित गर्दै नयाँ सीप सिक्न, जिज्ञासा बढाउन र प्रविधिलाई सकारात्मक रूपमा उपयोग गर्न आग्रह गर्नुभयो ।रासस