९ असार २०८३, मंगलवार
,
Latest
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन/चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो । उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो ।

परियार दोस्रो पटक सुत्केरी हुन प्रसूति गृह पुगेकी हुन् । उनले १४ वर्षमै पहिलो बच्चा जन्माएको बताइन् । सोही वडामा पर्ने पोद्दारपुरकी रेशमा खटीक (१८) पनि सुत्केरी हुनकै लागि प्रसूति गृह आइपुगिन् । उनका आँखा पहेँलिएका थिए, हातखुट्टा सुन्निएका थिए । अनमी सार्कीसँग ‘जीउ गहुँगो भएर बेथा लाग्छ कि’ भनेर आएको बताउँदै थिइन् ।

प्रसूति कक्षमा बिहानैदेखि परियार पल्टिरहेकी थिइन् । अनमी सार्कीका अनुसार उनको रक्तचाप कम भएका कारण सुत्केरी गराउन ढिलाइ भएको हो । परियारलाई सुत्केरी गराउन नपाउँदै खटीक आइपुगेकी थिइन् । प्रसूति गृहमा शय्या एउटै मात्र भएकाले पालो कुर्नु पर्छ । त्यसो त यहाँ सुत्केरी हुन आउनेको भीड नै लाग्ने गरेको छ ।

उनको उपचारमा संलग्न अनमी सार्कीले माछा, मासु, अण्डा, फलफूल र दूध–दही नखाएकाले शरीरमा आइरन र प्रोटिन कम भएको बताउँदै थिइन् ।
गर्भवती हुँदा नै चक्कर लाग्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने र थोरै हिँड्दा पनि मुटुको धड्कन बढ्ने समस्याले सताए पनि परियार र खटीकले त्यसको कारण थाहा पाउन सकेका थिएनन् । “सुत्केरी हुँदा तागतिला खानेकुरा नपाउने गर्भवती महिला कमजोर र रोगी बन्छन् भन्ने पनि उनीहरुलाई थाहा छैन्,” अनमी सार्कीले भनिन् ।

स्वास्थ्यका दृष्टिकोणले २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु शारीरिकरुपमा अपरिपक्व नै मानिन्छ । विसं २०७५ भदौदेखि लागू भएको मुलुकी संहिताले २० वर्षभन्दा कम उमेरमा विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ तर, यहाँ सुत्केरी हुन परियार र खटीक जस्ता धेरै किशोरीहरु आउने गरेका छन् ।

“गर्भवती भएर आउँदा उमेर सोधेपछि हामीलाई उदेक लाग्छ, धेरैले १३÷१४ वर्षमै बिहे गरिसकेका हुन्छन् र १८÷१९ वर्ष पुग्दानपुग्दै दुई सन्तानकी आमा बनिसकेका हुन्छन्,” अनमी सार्कीले भनिन् – “कम उमेर भयो भनेर हामीले सुत्केरी गराउँदैनौं भन्न मिल्दैन । बालविवाहले नै यस्तो अवस्था ल्याएपछि हामीले कसरी रोक्नु ?”

त्यस्ता किशोरीलाई यहाँ तीन महिने सूई लगाउन सुझाव दिने गरिएको छ । उनले भने – “तीन महिने सूई लगाउनुस् भनेर हामीले नै सहमत गराउँछौं । धेरैले तीन महिने सूई लगाएका कारण किशोरावस्थामै सुत्केरी हुनबाट रोक्न सकेका छौं । कोही कोही मान्दैनन् । नमान्नेलाई जबर्जस्ती गर्न मिलेन ।”

उक्त वडाका ७० प्रतिशत गर्भवती २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन् जो सुत्केरी हुन यहाँ आउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पहुँच नै नभएका र पहुँच भएर पनि स्वास्थ्य संस्थामा नआउने, घरमै सुत्केरी हुनेको सङ्ख्या खोजी गर्ने हो भने यो अनुपात अझै बढ्ने उहाँको भनाइ छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्मको तथ्याङ्क केलाउँदा सुत्केरी हुन आउने १०५ मध्ये ७२ जना महिला १७–२५ उमेर समूहका छन् र १७–१८ वर्षमै सुत्केरी हुन आउने ६१ जना छन् । यो उमेर समूहलाई किशोरावस्था नै मानिन्छ । त्यसो त १७–१९ वर्ष उमेर समूहका सुत्केरी हुन आउने अधिकाँश किशोरी दोस्रो बच्चा जन्माउन प्रसूति गृहमा पुगेको तथ्याङ्कले देखाउँछ । आव २०७५/७६ मा १७६ जना सुत्केरी भए् । तीमध्ये ६० प्रतिशत किशोरी थिए । यसको कारण हो बालविवाह ।
कम उमेरमा गर्भवती हुँदा गर्भवती र गर्भमा रहेको शिशु दुवैलाई जोखिम हुन्छ । उपमहानगरपालिकाको एउटै वडाभित्र २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनेहरुको सङ्ख्या बढेको देखिनु चिन्ताको विषय हो । आमा समूह र बाल क्लबबाट बालविवाह रोक्ने प्रयास भइआए पनि त्यो प्रभावकारी बनेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउन चाहिने सबै मापदण्ड पूरा भइसकेको दावी गरिरहेकै बेला उपमहानगरभित्रको एउटै वडामा गर्भवती किशोरीको सङ्ख्या भयावह देखिएको छ । बाँकेमा अभिभावकको सहमतिमा हुने बालविवाह न्यून भए पनि भागी विवाह गर्नेको सङ्ख्या अधिक छ । यसको आधिकारिक तथ्याङ्क भने कतै पाइँदैन । आधारभूत तह शिक्षा पूरा गरेर माध्यमिक तहको शिक्षा नजीकै लिन नपाउने स्थितिले बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुनुपरेको र त्यस्ता बालबालिकामा बालविवाह गर्ने प्रवृत्ति देखिएको छ । बालबालिकामा मोबाइलको प्रयोग बढेसँगै बालविवाह र कम उमेरमै गर्भधारण हुने गरेकोे सार्कीको ठम्याइ छ ।

बालविवाहमाथि कानूनले प्रतिवन्ध लगाए पनि कतिपय समुदायमा १०/११ वर्षमै छोरीको बिहे गरिदिने संस्कारले जरो गाडेका कारण पनि कम उमेरमै विवाह गर्नेको सङ्ख्या घट्न सकेको छैन । बालविशेषज्ञ डा रोमा बोराले कम उमेरका गर्भवतीबाट जन्मिएका शिशुहरूको तौल र उनीहरूको स्वास्थ्यसमेत जोखिमयुक्त रहने बताइन् । लाजका कारण घरमै सुत्केरी हुने गर्भवती किशोरीहरुको स्वास्थ्य थप जोखिमयुक्त हुन्छ ।

“बालविवाहका नकारात्मक असरबारे चेतना फैलाउने कार्यमा सबै पक्षबाट सक्रियता बढाउनुपर्ने आवश्यकता छ,” डा बोराले भनिन् – “उमेर नपुगेका किशोरीबाट जन्मिएका शिशुको तौल कम हुने गरेको छ । सामान्य अवस्थाका शिशुको तौल साढे दुई किलोभन्दा माथि हुनैपर्छ ।”

अनमी सार्कीका अनुसार उपकरणको अभाव भएकाले जटिल खालका र सुत्केरी गराउन नसक्ने गर्भवतीलाई भेरी अस्पताल पठाउने गरिएको छ । शरीरमा कुपोषण हुँदा, रगत र आइरनको कमी हुँदा, जुका पर्दा र वंशानुगत कारणले हेमोग्लोबिनको मात्रा कम भएर रक्त अल्पता हुने गर्छ । शरीरमा रगत कम हुँदा अक्सिजन प्रवाह कम हुन्छ र त्यसले थकान र कमजोरी बढाएर श्वासप्रश्वासको गति र मुटुको धड्कन बढाउँछ । फलतः डर लाग्ने, मन आत्तिने तथा आँखा र नङ सेतो हुुने लक्षण देखापर्छ ।

पुरुषमा भन्दा गर्भवती र सुत्केरी महिलामा बढी देखिने यस्ता समस्या उमेर नपुग्दै विवाह गर्ने र अनिच्छित गर्भ तुहाउने महिलामा अझ बढी हुने गरेको सम्बद्ध डाक्टरहरुको भनाइ छ । धेरै महिलालाई भिटामिन र आइरन पाइने पोषणयुक्त खानाबारे जानकारी नहुनु र त्यस्ता खानामा पहुँच नहुनु रक्त अल्पताको अरु कारण हुन् ।