१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा चैते धान रोपाइँ



अ+ अ-

सुनसरी। सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।

जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धानखेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धानखेती गर्न रुचाउने गरेका छन् ।”

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारीखेती कम हुने क्षेत्रमा यस्तो धानखेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताउनुभयो । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उहाँले भन्नुभयो । रासस