२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दै

खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दै
अ अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । 

खप्तडमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो । अहिले खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ भएकाले पर्यटक आकर्षित हुन थालेको खप्तड पर्यटन विकास समितिका अध्यक्ष हर्कबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खप्तड हेर्न लाएक छ, यहाँका दृष्य अवलोकनका लागि भए पनि पर्यटक आउनेक्रम बढेको छ ।”

कोरोना भाइरस सङ्क्रमणको जोखिममा कमी भएपछि गएको वैशाखयता खप्तडमा कम्तीमा पनि आन्तरिक तथा बाह्य गरी तीन हजार पर्यटक भित्रिएको निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ । खप्तड प्रवेशद्वार झिग्राना तथा बग्लेकमा पर्यटकका लागि घरबास होमस्टे तथा विश्रामस्थल निर्माण भएका कारण पनि पर्यटक आउनेक्रम बढ्दै गएको पूर्वीचौकी गाउँपालिका–२ का स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । 
    
उहाँले भन्नुभयो, “खप्तडमा अहिले सडक र घरबास निर्माण भएकाले पर्यटकको आर्कषण बढेको छ, पर्यटक आउन थालेसँगै यहाँका स्थानीयवासीको आयस्रोतमा समेत वृद्धि हुँदै गएको छ ।” यहाँ आएका पर्यटकलाई स्वागत गर्न र बास बस्नका लागि घर निर्माण भएकाले पर्यटक आउनेक्रम बढेको स्थानीयवासीको भनाइ छ । 

जिल्लामा कोरोना सङ्क्रमण दर शून्यमा झरेको र पर्यटकका लागि बास बस्ने राम्रो व्यवस्था भएकाले खप्तडसहित यहाँका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउनेको सङ्ख्या अधिक रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकका लागि हामीले अहिले यहाँ घरबास र यातायातको सुविधा मिलाएका छौँ, सुविधा पाउन थालेपछि पर्यटक आउनेक्रम बढेको छ ।” अहिले खप्तड मनमोहक देखिने भएकाले पनि पर्यटक आउनेक्रम बढेको तथा निकुञ्ज पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु बनेको होटेल व्यवसायी सङ्घका जिल्लाध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खप्तडको दृष्य मनमोहक छ, पर्यटकको प्रमुख रोजाइँमा खप्तड परेकाले पर्यटकको आक्रर्षण बढेको हो ।”

खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकनमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार हिजोआज खप्तडमा दैनिक ८० देखि ९० जनासम्म पर्यटक आउने गरेका छन् । धर्तीको भू–स्वर्गका नामले चिनिने खप्तड निकुञ्जमा अहिले बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, डोटीलगायत छिमेकी मुलुक भारतका आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिकस्थलका साथै विभिन्न जङ्गली जनावरसमेत देख्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्र मनमोहक छन् । निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्ने गर्दछ । पर्यटकको सुविधाका लागि पूर्वीचौकी गाउँपालिका–२ बग्लेगसम्म प्रदेश सरकारले सडक सुविधा पु¥याइएको छ । बग्लेगबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । 

खप्तड क्षेत्रमा रहेको खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्वद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको छ । गाउँपालिका, गाउँपालिकाकै वडा नं २ र  होटल व्यवसायी सङ्घको संयुक्त लगानीमा बग्लेक गाउँका दश घरमा घरबास सेवा पनि सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल बनेको निकुञ्जभित्र नागढुङ्गा, खापर दह, सहस्र लिङ्ग, त्रिवेणीधाम, पाटन, खप्तड दह ९ताल०, खप्तड बाबाको आश्रमका साथै विभिन्न किसिमका वनस्पति र चराचुरुङ्गी देख्न सकिन्छ  । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । समुद्र सतहबाट तीन हजार ५०० मिटरसम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरीका वनस्पति र नेपालमा पाइने ८५० मध्ये २६० भन्दाबढी चराचुरुङ्गी पाइन्छ । एकसय पचास मिटर लम्बाइ ५० मिटर चौडाइको खप्तड दहमा बाह्रै महिना पानीको सतह एकैनाशको हुन्छ । यहाँ अन्य ५२ दह छन् ।

निकुञ्जभित्र कस्तुरी, मृग, बँदेल, डाँफे, जरायो, रतुवा, थारल, घोरल, चितुवा, भालु, बाँदर, ढेडुबाँदर, दुम्सी, खरायोलगायत जङ्गली जनावर पाइन्छन् । प्रकृतिले नै रमाइलो बनाएको त्यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु, घोडा चर्न आउने गरेको देखिन्छ । जैविक विविधताले भरिएको यो क्षेत्रलाई  विसं २०४० मा राष्ट्रिय निकुञ्ज बनाइएको थियो । यस क्षेत्रको सुरक्षाका लागि विसं २०४७ देखि नेपाली सेनाको व्यारेक स्थापना गरिएको छ । दुईसयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटी पनि पाइने खप्तडमा मङ्सिरदेखि फागुन महिनासम्म हिउँले ढाक्ने गरेको छ ।